काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार भारी अंकले उकालो लागेको छ। 

बजार आज ५२.२६ अंकले बढेर २०९४.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१८ अंकले बढेर ३९०.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार  महेश रिजाल बजार आजसम्म लगातार ९ दिन बढेको बताउँछन्। ‘पहिले पनि बजार ९ दिनसम्म बढेपछि सामान्य करेक्सन आएको थियो’, उनले भने, ‘त्यसैले आगामी कारोबारमा सामान्य करेक्सन आउन सक्छ।’

प्राविधिक रुपमा आरएसआई पनि ओभरबट जोन पुगेको रिजाल बताउँछन्। ‘त्यसैले यो साता बजारमा अल्पकालीन करेक्सन देखिन्छ’, उनले भने, ‘तर पनि बजारको बियरिस चक्र सकिएको मान्न सकिन्छ।’

बजारमा अब सानातिना करेक्सन आए पनि ठूलो करेक्सन नआउने रिजालको भनाइ छ। 

अर्का बजार जानकार निमानन्द कँडेल भने आज बजार बढ्नुमा ३–४वटा कारण रहेको बताउँछन्। ‘अन्तरबैंक ब्याजदर घट्नु, कर्जाको ब्याजदर पनि घट्दै जानु, तरलता सहज हुँदै जानु, सीडी रेसियो पनि घट्दै जानु र अन्य क्षेत्रमा कर्जा प्रवाह नहुनुले बजार बढोत्तरी आएको हो’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। 

यो दिन जीवन बीमास समूह सर्वाधिक ६.३८ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ६.१५ प्रतिशतले बढ्दा अन्य समूहमा ६ प्रतिशत, विकास बैंक समूहमा १.३५ प्रतिशत, वित्त समूहमा २.१२ प्रतिशत, जलविद्युत समूहमा ३.९७ प्रतिशत, लगानी समूहमा १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.६४ प्रतिशत, लघुवित्त समूहमा २.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.६८ प्रतिशत र व्यापार समूहमा ३.४३ प्रतिशतको बढोत्तरी भएको छ। 

आज बैंकिङ समूह मात्रै ०.२९ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ३६ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड ९३ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको १६ करोड ६६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५४ लाख रुपैयाँ, नेपाल टेलिकमको १४ करोड ७४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १४ करोड १९ लाख रुपैयाँ, नागरिक लगानी कोषको ११ करोड ६२ लाख रुपैयाँ, अपर तामाकोशीको ११ करोड रुपैयाँ, ग्रामीण विकास लघुवित्तको संस्थापक सेयरको १० करोड ३९ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज १२ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर्स, सुपर माई हाइड्रोपावर, आत्मनिर्भर लघुवित्तर र मेच्छियाम हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत र सिटी होटेल, महुली लघुवित्त, साधना लघुवित्त, श्वेत–गंगा हाइड्रोपावर, नेसनल हाइड्रोपावर र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको भाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको हो। एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सका सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन शुभम पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।