काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले आइतबार विभिन्न ५ कम्पनीका २४ लाख ८२ हजार ५७ कित्ता बोनस सेयर कारोबारका लागि सूचिकृत गरेको छ । 

उता प्रभू इन्स्योरेन्सले कम्पनीमा प्रोमोटर र सर्वसाधारणको सेयर स्वामित्व अनुपात ५१ : ४९ बनाउने उद्देश्यले २ लाख ९५ हजार ८ सय ९८ कित्ता प्रोमोटर सेयरलाई साधारण सेयरमा परिणत गरेको छ । 

लगानीकर्ताले आइतबार बोनसको रुपमा नेप्सेमा सूचिकृत कम्पनीका सेयर खरीदबिक्री गर्न सक्नेछन् । 

नेप्सेका अनुसार सिद्धार्थ डेभलपमेन्ट बैंकको ७ लाख ९ हजार ५ कित्ता बोनस सेयर कारोबारका लागि सूचिकृत भएको छ । यो बैंकको गत पुस ३० गते सम्पन्न १५ र १६ औं वार्षिक साधारणसभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । 

लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमीटेडको पनि १ लाख कित्ता बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत भएको छ । यो कम्पनीको केही अघि सम्पन्न चौथो वार्षिक साधारणसभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशतको दरले बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । 

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमीटेडको पनि ५ लाख ७२ हजार कित्ता बोनस सेयर आइतबार सूचिकृत भएको छ । गत पुस २७ गते यो कम्पनीको १४ औं साधारणसभा सम्पन्न भएको थियो र सो सभाले लगानीकर्तालाइै १० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको थियो । 

यसैगरी, नेपाल इन्स्योरेन्सको पनि २ लाख ३८ हजार ५० कित्ता बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत भएको छ । यो कम्पनीको गत कात्तिक २३ गते सम्पन्न ६६ औं वार्षिक साधारणसभाले लगानीकर्तालाई ९ प्रतिशतको दरले बोनस सेयर दिने निर्णय गरेको थियो । 

प्रिमियर इन्स्योरेन्सको पनि ८ लाख ६२ हजार ५ सय ७ कित्ता बोनस सेयर कारोबारका लागि सूचिकृत भएको छ । यो कम्पनीको २१ औं साधारणसभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर उपलब्ध गराउने प्रस्ताव पारित गरेको थियो । 

यसैगरी, प्रभू इन्स्योरेन्सको पनि २ लाख ९५ हजार ८ सय ९८ युनिट प्रोमोटर सेयर साधारण सेयरमा परिणत भएको र आइतबार नै सूचिकृत भएको नेप्सेले जनाएको छ ।