काठमाण्डौ । भूकम्पपीडितका लागि दुुईवटा र भूमिहीन मुसहरहरुका लागि एउटा एकीकृत नमूना बस्ती निर्माण गरेको धुर्मुुस–सुन्तली फाउण्डेसनले ५ अर्ब बढी लगानीको महत्वकांक्षी ‘नमूना नेपाल’ निर्माणको अवधारणा अगाडि सारेको छ । 

सोमबार काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरी फाउण्डेसनले हिमाल, पहाड र तराईको समायोजन हुने गरी मौलिक, आकर्षक र मजबुत ‘नमूना नेपाल’ निर्माण गर्ने महत्वकांक्षी अवधारणा सार्वजनिक गरेको हो । 

अवधारणा सार्वजनिक गर्दै फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल(धुर्मुस)ले ५ अर्ब बजेटमा यो प्रोजेक्ट पूरा हुने र त्यसका लागि सरकारदेखि सर्वसाधारणसम्मले सहयोग गर्नुपर्नेमा जोड दिए । 

महत्वकांक्षी प्रोजेक्ट नमूना नेपालका लागि ५ सय रोपनी जग्गा आवश्यक पर्ने भन्दै सीतारामले त्यसको उपलब्धताका लागि सरकारलाई आग्रह गरेका छन् । उनले आफूहरुले सरकारको काममा सहयोग गरिरहेको भन्दै देश–विदेशमा बसोबासका गर्ने प्रत्येक नेपालीलाई समेत सहयोग गरिदिन आग्रह गरेका छन् । उनले भने–‘हरेक नेपालीले २ सयका दरले सहयोग गर्नुभयो भने पनि ६ अर्ब उठ्नेछ । विदेशमा रहने नेपालीले २ हजारका दरले सहयोग गर्नुभयो भने पनि ८ अर्ब बढी रकम उठ्नेछ ।’

अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल, नमूना नेपाल भन्ने मूल नाराको साथ अगाडि सारिएको यो प्रोजेक्ट अन्तरगत हिमाल र हिउँ खेल्ने ठाउँसहितको मौलिक हिमाली बस्ती निर्माण गरिनेछ । ५ सय रोपनी क्षेत्रमै पहाडलाई बिर्साउने आधुनिक बस्ती निर्माण हुनेछ भने सोही परिसरमा तराईको झल्को दिने बस्ती समेत बनाइनेछ । हिमाली, पहाडी र तराई क्षेत्रका घरहरुको डिजाइन उस्तै हुनेछन् । सो बस्तीमा धराहरा भ्यूू टावर, मिनी रेल, फराकिलो पार्कहरु, हिउँ खेल्ने ठाउँ, बोटिङ लगायतको सुविधा हुनेछ । 

‘यो क्षेत्र सम्पूर्ण नेपाल घुम्न नसक्ने विदेशीका लागि अध्ययनको केन्द्र समेत हुनेछ ।’ धुर्मुसले पत्रकार सम्मेलनमा भने–‘हामीले यो बस्तीभित्र विशाल नमूना संग्राहलय समेत स्थापना गर्नेछौ ।’ उनले आफ्ना बालबालिकालाई नेपाल भनेर बुुझाउनका लागि समेत यो केन्द्र महत्वपूर्ण हुने दाबी गरे । बस्तीमा हिमाली क्षेत्रका गुम्बादेखि पहाड तथा तराईका मठमन्दिर, मस्जिद लगायतको समेत निर्माण हुनेछ । मिनी पशुपतिनाथदेखि लुम्बिनी हुँदै जनकपुरको रामजानकी मन्दिरसम्मको संरचना निर्माण हुने पत्रकार सम्मेलनमा बताइएको छ । 

यो नमूना नेपालभित्र सबै जात, धर्म र सम्प्रदायका मानिसको बसोबास हुने बताइएको छ । यो क्षेत्रमा हिमाल, पहाड र तराईका विपन्न अवस्थाका गरीबहरुलाई बसोबास गराउने आफ्नो योजना रहेको सीतारामले बताए ।