काठमाण्डौ । नयाँ सरकार गठन भएसँगै आम अपेक्षा विपरीत बजार निरन्तर घटेपछि लगानीकर्ताले ७ खर्ब रुपैयाँ गुमाएका भन्दै सेयर लगानीकर्ता संघले बजारको बिषयमा सरकारको धारणा मागेको छ । 

संघका महासचिव जगन्नाथ पूडासैनीले एक विज्ञप्ति जारी गर्दै सरकार गठन हुनुुभन्दा केही अघिसम्म २१ खर्बसम्मको पूँजीकरण रहेको सेयर बजार चैत ८ गतेसम्म १४ खर्बको हाराहारीमा सीमित बन्न पुुगेको भन्दै सरकारले तत्काल बजारको बिषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् । 

'यदि सरकार साँच्चै नै पूँजीबजार मैत्री र देश विकासमा सर्वसाधारण लगानीकर्तालाई पनि सँगै लिएर अगाडि बढ्न चाहन्छ भने शीघ्र भन्दा शीघ्र पूँजीबजारको विकासमा सरकारका योजना र धारणाहरु सार्वजनिक गर्नुपर्दछ ।'-विज्ञप्तिमा भनिएको छ ।

महासचिव पूडासैनीले नेपालको एक मात्र शेयर कारोवार गर्ने पुँजिबजार देशमा आर्थिक विकासको माध्यमबाट देशको गरिबी निर्मुल गरी समृद्ध देश निर्माण गर्ने उद्देश्य लिएर गठन भएको नयाँ सरकारसँगै दिनानुदिन नेप्से परिसूचकले नकारात्मक प्रवृति देखाई रहँदा पनि सरकारमा रहेका पुँजीबजारसँग सम्बन्धित निकायहरु अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैंक, धितोपत्र बोर्ड र नेप्सेका प्रतिनिधिबाट कुनै प्रकारको प्रतिक्रिया नआउनु र मूक(दर्शक भएर बसेका आरोप लगाएका छन् । उनले दैनिकजसो बजार बिनाकारण घटेर लगानीकर्ताले करोडौं गुमाइरहँदा समेत सरोकारवाला निकाय चूप बस्नु दुःखद रहेको बताएका छन् । 

‘बजार घटेर चौपट भइसक्दा पनि सरोकारवाला निकायको कुनै प्रतिक्रिया नआउनुुले सरकार पूँजीबजारप्रति असहिष्णुु हो कि भन्ने लगानीकर्तामा भान पर्न लागेको छ ।’–विज्ञप्तिमा भनिएको छ।