काठमाण्डौ ।  बुटवल पावर कम्पनी लिमीटेडले ८८२ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माणकर्ता कम्पनीको सबै सेयर खरीद गरेको छ । 

बुटवल पावर कम्पनीले ६०० मेगावाट क्षमताको अपर मस्र्याङ्दी–२ जलविद्युत आयोजना तथा २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको सम्पूर्ण स्वामित्व खरीद गरेको हो ।

अपर मस्र्याङ्दी–२ को निर्माणकर्ता कम्पनी हिमताल हाइड्रोपावरको सेयर खरिदबिक्री सम्बन्धी सम्झौतापत्रमा बुटवल पावर कम्पनी, एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी तथा चिनियाँ साझेदार कम्पनीहरुः एससीआईजी इन्टरनेसन लिमिटेड, छिङ्चेण्द इन्टरनेसनल इन्भेष्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनल कम्पनी लिमिटेड र आयोजना कम्पनीका विदेशी सेयरधनी जिएमआर इनर्जी लिमीटेड तथा स्थानीय सेयरधनीबीच बैशाख २१ गते हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

यस आयोजनामा बुटवल पावरको १९.४ प्रतिशत शेयर स्वामित्व हुने र बाँकी स्वामित्व साझेदार चिनियाँ कम्पनीको हुने बताइएको छ।

यसैगरी, मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाका लागि कम्पनीले चैत १२ गते मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीका सम्पूर्ण शेयरहरु खरिद गरेको छ। मस्र्याङ्दी नदीमै बन्ने यो आयोजनाको सबै सेयरहरु सो आयोजना कम्पनीका विदेशी सेयरधनी राजरत्न इनर्जी होल्डिङ्स प्रालिसँग चैत १२ तथा स्थानीय सेयरधनी मस्र्याङ्दी पावर कम्पनी प्रालिसँग चैत १२ गते सेयर खरीद सम्बन्धी सम्झौता भएको बताइएको छ ।

पाँच महिनाअघि बुटवल पावर कम्पनीले आगामी पाँच वर्षमा थप एक हजार मेगावाट विद्युत उत्पादन गर्न तीन चिनियाँ कम्पनीसँग संयुक्त रुपमा एससीआईजीमार्फत २ अर्ब डलर अर्थात २ खर्ब रुपैयाँ विदेशी लगानी भित्र्याउने सम्झौता गरेको थियो । 

दुई आयोजनाको सबै सेयर खरीद गर्ने सम्झौताको खबरले बुटवल पावर कम्पनी लिमीटेडको दोश्रो बजारमा सबैभन्दा बढी सेयर कारोबार भएको छ । सम्झौताको खबरपछि सोमबार बुटवल पावर कम्पनीले सबैभन्दा बढी ६ करोड ५५ लाख बढीको कारोबार गर्यो । यो दिन बुटवल पावर कम्पनीका लगानीकर्ताले २.४४ प्रतिशतले सम्पत्ति बढाए ।