काठमाण्डौ । आठौं रियल इस्टेट एक्स्पो- २०२३ आगामी पुस १२ देखि १५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ ।

नेपालमा आवास तथा जग्गा विकास संघ(एनएलएचडीए) ले रियल इस्टेट एक्स्पो आयोजना गर्न लागेको हो । नेपाल जग्गा तथा आवास विकास महासंघ प्रबर्द्धक भई ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सहआयोजनामा र सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको  आठौं एक्स्पो आयोजना हुन लागेको हो ।

संविधानले आवासको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको तथ्यलाई ध्यानमा राख्दै घरजग्गा विकासकर्ताहरूले नेपाल सरकारको नीति तथा प्रचलित कानून बमोजिम वैज्ञानिक, किफायती, व्यवस्थ्ति एवं सुरक्षित आवास र जग्गा विकासको माध्यमबाट योजनाबद्ध सहरीकरण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

यसैले, यो आठौं रिरयल इस्टेट एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुनेछ । जसमा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्ताहरूलाई प्रदान गर्नेछन् र उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र पक्षहरु बारे धेरै जानकारी प्राप्त गर्ने महासंघले जनाएको छ ।

नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरुलाई लक्षित गरि यो एक्स्पो हुन लागेको भएता पनि यसले रियल इस्टेट क्षेत्र अन्तरगतको व्यावसायिक र व्यापारिक सम्पति, वास्तुकला, निर्माण, भवन, इञ्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तरराष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता रहने छ ।

प्रदर्शनमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् । साथै, उ्रक्त प्रदर्शनीमा इच्छुक उद्यमीहरुको चाहना बमोजिमका सेवाहरु पनि उपलब्ध गराइने महासंघले बताएको छ ।

प्रदर्शनीमा जग्गा तथा भवन विकासकर्ता जग्गा तथा घर खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता, घरजग्गा एजेन्ट, इञ्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरिरयर डिजाइनर, प्रवलीकरण तथा पुनर्निर्माण सम्बन्धी डिजाइनर र निमााण सामग्री आपूर्तिकर्ता तथा वितरकहरुका साथै निर्माण उपकरण उत्पादक एवं डिलर,प्लम्बर, इलेक्ट्रिसियन तथा लाईटिङ व्यवसायीहरु र अन्य सेवा प्रदायकहरूका लागि साझा मञ्च हुनेछ पनि उसले बताएको छ ।

यसैगरी, एक्स्पोमा सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय तह र नियामक निकायका सरकारी प्रतिनिधिहरुका रियल इस्टेट क्षेत्रका महत्वपूर्ण सरोकारवालाहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । यसका साथै एक्स्पोमा उपभोक्ताले आफ्नो छनोट अनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर प्राप्त  गर्ने तथा घरजग्गालाई सरल, किफायती, अनुमानयोग्य र व्यवस्थित बनाउन एक्स्पो उपयोगी हुने बताइएको छ ।

महासंघले एक्सपोमार्फत रियल इस्टेट व्यवसायको बर्तमान स्थिति र यसका चुनौती र न्यूनीकरणका उपायहरूसहित यस क्षेत्रको भविष्यका सम्भावनाहरू बारे सर्वसाधारणलाई उपयोगी हुने र यस उद्योगको विकासमा थप योगदान पुर्‍याउने विश्वास लिएको पनि बताएको छ ।

साथै यस एक्स्पोले व्यवस्थित आवास तथा जग्गा विकासको प्रबर्द्धनका लागि उत्प्रेरित गर्दै आधुनिक दिगो एवं व्यवस्थित मानव बस्ती र सहरीकरणको विकासमा थप योगदान पुर्‍याउने पनि उसले बताएको छ । एक्स्पोमा करिब १ लाखभन्दा बढी दर्शकहरुले अबलोकन गर्ने अपेक्षा गरिएको छ।