काठमाण्डौ । आज एकैपटक ८ वटा म्युचुअल फन्डका माघ महिनासम्मको खुद सम्पत्ति मूल्यसम्बन्धी विवरण सार्वजनिक भएको छ। 

आज सिटिजन्स म्युचुअल फन्ड, लक्ष्मी म्युचुअल फन्ड र सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित २/२ वटा, सनराइज म्युचुअल फन्ड र ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गतका १/१ वटा गरी कुल ८ वटा म्युचुअल फन्डका खुद सम्पत्ति मूल्यसम्बनधी विवरण सार्वजनिक भएको हो। 

आज सार्वजनिक विवरणअनुसार सनराइज फस्ट म्युचुअल फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) माघ बढेर १५.०५ रुपैयाँ पुगेको छ। गत पुसमा यो योजनाको न्याभ १४.०८ रहेको थियो। 

सनराइज क्यापिटल योजना व्यवस्थाक रहेको यो १० वर्षे योजनाको माघमा खुद नाफा ४१ करोड ८ लाख रुपैयाँ पुगेको छ भने कुल लगानी बढेर १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। 

यस्तै ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ग्लोबल समुन्नत योजनाको न्याभ पनि माघमा बढेर १८.२४ रुपैयाँ पुगेको छ। पुसमा न्याभ १६.२९ रुपैयाँ रहेको थियो।

ग्लोबल आईएमई क्यापिटल योजना व्यवस्था रहेको यस योजनाको खुद नाफा ५२ करोड ७७ लाख रुपैयाँबाट बढेर माघ महिनामा ७२ करोड ३० लाख रुपैयाँ पुगेको छ। यस योजनाअन्तर्गत कुल १ अर्ब ७७ करोड लगानी भएको छ। 

यसैगरी सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड १ र २ को न्याभ पनि बढेर माघ महिनामा क्रमशः १२.७६ रुपैयाँ र १३.५१ रुपैयाँ पुगेको छ। गत पुसमा यी दुवै योजनाका न्याभ क्रमशः १२.३५ रुपैयाँ र १२.८६ रुपैयाँ रहेका थिए। 

फन्ड १ ले खुद आय २१ करोड १५ लाख रुपैयाँ आर्जन गर्दा फन्ड २ ले १ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ। यी दुवै ७ वर्षे योजना हुन्।

लक्ष्मी म्युचुअल फन्डका लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विट फन्डका न्याभ पनि बढेर माघ महिनामा क्रमशः १२.५५ रुपैयाँ र १४.०९ रुपैयाँ पुगेको छ। यसअघि पुसमा दुवै न्याभ क्रमशः ११.८५ रुपैयाँ र १३.४५ रुपैयाँ रहेको थियो। 

त्यस्तै सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको न्याभ पनि माघ महिनामा बढेर १७.६३ रुपैयाँ पुगेको छ। गत पुसमा न्याभ १६.३६ रुपैयाँ रहेको थियो। 

सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको यस सातवर्षे योजनाले माघसम्म ९० करोड २६ लाख रुपैयाँ कुल आय गरेको छ। गत पुसमा कुल आय ७३ करोड ७५ लाख रुपैयाँमा सीमित थियो। 

सानिमा म्युचुअल फन्डअन्तर्गत नै सञ्चालित ७ वर्षे सानिमा लार्ज क्याप फन्डको न्याभ भने ९.९७ रुपैयाँ रहेको छ। यस योजनाअन्तर्गत हालसम्म ७ करोड ६६ लाख रुपैयाँ लगाी भएको छ।