इटहरी । मानव स्वास्थ्यप्रति खेलवाड गर्नु जघन्य अपराध हो । मानव स्वास्थ्यप्रति खेलवाड गर्ने कानूनको नजरमा अपराधी  हो । विदेशमा मानवस्वास्थ्यमाथि खेलवाड गर्नेहरुलाई मृत्युदण्डसम्मको सजायको व्यवस्था छ । तर हाम्रो देशमा मानव स्वास्थ्यप्रति खेलवाड गरी जघन्य अपराध गर्नेमाथि सजाय भएको घटना सुनिदैन । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले लामो समयको अनुसन्धानपछि इटहरी लगायत नेपालका बिभिन्न सहरहरुमा संचालित सरकारी तथा गैरसरकारी अस्पतालहरुबाट नक्कली शैक्षिक प्रमाणपत्रका भरमा लामो समयदेखि डाक्टर भई विरामीहरुको उपचारका संलग्न एकदर्जन नक्कली डाक्टरलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई काठमाण्डौं लगेर अहिले कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । पक्राउ परेका नक्कली डाक्टरमध्ये इटहरीमा लामो समयदेखि पशुपति अस्पताल संचालन गरेका पशुपति चौधरी पनि एक हुन् । उनी पनि आफ्नो नाम अगाडि डाक्टर लेखेर लामो समयदेखि बिरामीहरुको उपचार गर्दै आएका थिए । उनले उपचार गरेका विरामीहरुमध्ये केहीको ज्यान गएको र केही उल्टो औषधि र उपचारका कारण मृत्युको मुखमा पुगेका थिए । 
 

कक्षा ८ मात्र पढेको पुष्टि
पशुपति अस्पताल संचालक चौधरीले कक्षा ८ मात्र पास गरेको अनुसन्धानबाट खुलेको छ । कक्षा ८ मात्र पास गरेका चौधरीले कसरी आफूलाई डाक्टर लेखेर अस्पताल खोल्ने हिम्मत गरे ? यो प्रश्न अहिले सिआइबीका उच्चतहका अधिकारीहरु बीच ठूलै बहस बन्न पुगेको छ । चौधरीले स्थानीय तहमा प्रहरी प्रशासनको समेत सहयोग पाएको हो कि भन्ने पनि अनुसन्धान टोलीनजिक पुगेको सिआइबी उच्च स्रोतको भनाई छ । कक्षा ८ पढेपछि चौधरीले पढाई नै छाडेका थिए । पढाई छाडेर बेगारी भएपछि आफ्ना बुबाले इटहरीमा खोलेको मेडिकल रेखदेखका लागि उनलाई जिम्मेवारी सुम्पेका थिए । उनका जेठा दाजु भने औषधी व्यवसायी संघ पूर्वाञ्चलका अध्यक्ष छन् । उनी विराटनगरमा ठूलै औषधी व्यवसायीका रुपमा चिनिन्छन् । दाजुले समेत औषधी पसलसहित मेडिकल संचालन गर्न पशुपतिलाई सहयोग गरेका थिए । मेडिकलको रेखदेख गर्ने क्रममा केही डाक्टरहरुको संगत गरेका चौधरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर भए पनि आफ्नो नाम अगाडि डाक्टर लेखेर विरामीको उपचार गर्ने हिम्मत गरेका उनीनजिकका सहकर्मीहरुले बताएका छन् । 

 

ठगी धन्दाको यो हद   !!!!

-बेगारी छोरालाई अस्पताल रेखदेख गर्न बाबुले पठाए, छोरा नक्कली सर्टिफिकेट बनाएर डाक्टर बने !
-सँगैका साथी उपचार गराउन जाँदा छक्क परे, ९ कक्षा फेल पशुपति त बिरामी पो जाँच्दै रहेछन् !
-डिजाइनरको सहयोग लिए, चाहे जत्ति अंक आफैँ हाले र डाक्टरको सर्टिफिकेट बनाए
-टाइफोइडका बिरामीलाई मलेरियाको औषधि, केहीको ज्यान गयो
-मेडिकल काउन्सिलमा १२ पटक परीक्षा, १२ पटक नै फेल !

 

ल्याब टेक्निसियनमा भर्ना भएका चौधरी कसरी भए डाक्टर ?
०५२ सालमा चौधरी ल्याब टेक्निसियन पढ्न साथीहरुसंगै इटहरीकै एक कलेजमा भर्ना भएका थिए । कलेजमा भर्ना भई केही समय उनले पढेका थिए । परीक्षाका लागि फारम भर्न नै उनी कलेजमा नआएको उनीसंगै पढ्ने साथीहरुको भनाई छ । परीक्षामा सामेल नभएपछि उनका साथीहरुले उनलाई निकै खोजी गरेका थिए । सो बेला उनी एकाएक इटहरीबाट हराएका थिए । परीक्षा सकिएपछि उनी फेरि इटहरीमा देखापरेका थिए । त्यसबेला उनले आफ्नो पशुपति अस्पताल अरुलाई नै ठेक्कामा संचालन गर्न दिएका थिए । ठेक्का लिनेले ठेक्का कबूल अनुसार मासिक रुपमा पैसा नदिएपछि चौधरीले आफैँ चलाउने निर्णय गरेका थिए । अस्पताल आफैँ चलाउने निर्णयसंगै उनी एकाएक डाक्टर भएका थिए । उनीसँगै ल्याब टेक्निसियन पढ्ने साथी भन्छन्–‘एकदिन घुम्दै पशुपति अस्पताल गएको थिएँ । अस्पताल अगाडि रहेको डाक्टरहरुको नामलिष्टमा डाक्टर पशुपति चौधरी लेखेको देखेँ । अर्कै पशुपति होला भन्ने मैले ठानेँ । त्यही पनि एकपटक बुझौं न त भनी भित्र डाक्टर बस्ने रुममा गएर बुझ्दा त तिनै पशुपति पो डाक्टर भएर बिरामी जाँचिरहेको देखेँ । म छक्क परेँ, नबोलिकन सरासर बाहिरिएँ ।’ ल्याब टेक्निसियनको परीक्षा नै नदिएको मान्छे कसरी डाक्टर भयो ? यो प्रश्नले आफूलाई पछिसम्म सताइरहेको ती साथीको भनाई छ । चौधरीका ती साथी अहिले ल्याब टेक्निसियन पास गरी इटहरीमै मेडिकल चलाएर बसिरहेका छन् । 

 

यसरी भए डाक्टर
पढाईमा परिवारका अन्य सदस्यभन्दा पशुपति ज्यादै कमजोर थिए । घरमा बुबा र दाजुभाईले पनि उनलाई पढ्न नसकेकोमा गाली गरिरहन्थे । त्यही बीचमा मेडिकलको रेखदेख गर्ने जिम्मेवारी पाएका उनले केही शैक्षिक प्रमाणपत्रहरु पैसा खुवाएर भारतबाट बनाएर ल्याएका थिए । एसएलसी र एमबिबिएस पास गरेको शैक्षिक प्रमाणपत्र भने उनले इटहरीमै बनाएका थिए । उनले इटहरीमा बनाएको शैक्षिक प्रमाणपत्रमा आफूखुसी नम्बरहरु हालेका थिए । त्यही प्रमाणपत्रको आधारमा उनले छाति फुकाएर आफ्नो नाम अगाडि डाक्टर लेखेर विरामीहरुको स्वास्थ्यमा समेत खेलवाड गर्दै आएका थिए । 

 

काउन्सिल परीक्षामा १२ पटक फेल
डाक्टर नै पढेकाहरुले पनि आफ्नो नाम अगाडि डाक्टर लेख्न पाए पनि नेपालको कुनै पनि क्षेत्रमा गएर काम गर्नु अगाडि नेपाल मेडिकल काउन्सिल नम्बर अनिवार्य लिनुपर्ने हुन्छ । नम्बरका लागि काउन्सिलले नियम अनुसार परीक्षा लिने गर्छ । परीक्षा पास गर्नेलाई मात्र काउन्सिल नम्बर उपलब्ध गराईन्छ । चौधरीले पनि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भए पनि काउन्सिलबाट नम्बर लिनका लागि १२ पटकसम्म प्रयास गरेका थिए । वर्षेनी काठमाण्डौं धाउने उनले परीक्षाका लागि १२ पटकसम्म काउन्सि लमा फारम भरेका थिए । परीक्षामा पनि सामेल भएका उनी १२ पटक नै फेल भएका थिए । १२ पटकसम्म फेल भएपछि चौधरी काउन्सिलको शंकाको घेरामा परेका थिए । 

 

पशुपतिको उपचारबाट धेरै पीडित
पशुपति चौधरीको उपचारबाट पीडित बन्नेको संख्या निकै छ । इटहरी वडा नम्बर ९ बाट बिष सेवन गरी ल्याइएकी एक मुस्लिम थरकी महिलाको उपचार संभव नभए पनि चौधरीले आफ्नो अस्पतालले उपचार गर्नसक्ने बताउँदै उपचार गर्दा उनको ज्यान गएको थियो । त्यति मात्र होइन, टाइफोइड भएका बच्चाहरुलाई मलेरिया लागेको भन्दै एकसातासम्म अस्पातलमा राखेर मलेरियाको औषधि चलाएको घटना पनि चर्चामा आएको थियो । इटहरीकै गुरुङथरका एक पीडित बच्चाका बुबाले भने– ‘पशुपतिका पीडितहरु इटहरी र आसपास क्षेत्रमा धेरै छन् । खोज्दै जाने हो भने पशुपतिलाई जीवनभर जेल सजाय गर्दा पनि अपराध अनुसार कम नै सजाय हुन्छ ।’ 

 

अन्य पनि नक्कली !
इटहरीका केही मेडिकल हलहरुमा आफूलाई डाक्टर भनेर काम गरिरहेकाहरु पनि नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा अहिलेसम्म काम गरिरहेको बुझिएको छ । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भए पनि काउन्सिलको परीक्षा पास गरेका स्रोतको भनाई छ । इटहरीको साई भवनको उत्तरतर्फ एउटा सटर भाडामा लिएर दैनिक बिरामी चेक गर्ने मुस्लिम थरका डाक्टर पनि नक्कली रहेको स्रोतको भनाई छ । पशुपति चौधरी पक्राउपछि ती डाक्टरको इटहरी आउने क्रम केही पातलिएको स्रोतको भनाई छ । अन्य स्थानमा काम गर्ने केही नक्कली डाक्टरहरुको पनि सातो गएको बुझिएको छ । स्रोतले भन्यो–‘मिहिन तरिकाले अनुसन्धान गर्ने हो भने इटहरीमा पनि धेरै नक्कली डाक्टरहरु फेला पर्छन् ।’

 

पशुपति दुहुनो गाई
पशुपति चौधरीले आफूलाई डाक्टर लेख्न थालेको चाल पाउनासाथ इटहरीमा रहेका केही पत्रकारहरु उसको पछि लागेका थिए । सो क्रममा काठमाण्डौंबाट प्रशारण भइरहेको निजी क्षेत्रको एक टेलिभिजन र पत्रिकाका केही पत्रकारहरुले पशुपति नक्कली डाक्टर हुन् भन्ने कुरा स–प्रमाण फेला पारेको थिए । तर सो कुरा बाहिर ल्याउनुको साटो उनीसँग मिलेर पैसा खाने काम गरेका थिए । ती पत्रकारहरुले पशुपति पक्राउ पर्नु केही समयअघिसम्म उनीबाट पैसा लिने काम गरिरहेको अस्पताल स्रोतले बताएको छ । पत्रकारहरुलाई मात्र नभई चौधरीले स्थानीय प्रहरीका घुमुवाहरुलाई पनि बेला–बेलामा राम्रो पैसा दिंदै आएका थिए । मानव स्वास्थ्य खेलवाड गर्ने चौधरीको फटाइँ बाहिर ल्याई कारबााही दिलाउनुको साटो केही पत्रकार र प्रहरीका घुमुवाले उनलाई संरक्षण गरी दुहुनो गाई बनाइरहेका थिए ।