– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालको सेयर बजारमा अन्तिम समयमा चलखेल हुनु सामान्य नै हो। फिल्मको अन्तिम समयमा रहस्य र रमाइलो भएजस्तै सेयर बजारमा पनि अन्तिम समयमा निकै रमाइलो र रहस्य हुने गर्छ। 

त्योभन्दा अझै रमाइलो त नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर बजारमा भइरहेको चलखेलबारे कहिल्यै थाहै पाउँदैनन्। तर, सेयर बजार हेर्ने पारखीहरुलाई भने अन्तिमसम्म हेरेन भने दिनभरको कारोबार हेरेजस्तो नै हुँदैन। 

सेयर बजारमा शुक्रबारको २ घन्टाको कारोबार त झनै रहस्यमय हुने गर्छ। बजारका लगानीकर्तालाई सधैँजस्तै आज शुक्रबारको २ घन्टाको कारोबारको अन्तिम १ मिनेट पनि कम रोचक भएन। 

उच्च बजार पुँजीकरण भएको नेपाल टेलिकम (एनटीसी)को सेयर दिनभर प्रतिकित्ता ९०० रुपैयाँभन्दा तल १.५ प्रतिशतले घटेर कारोबार थियो। तर, अन्तिम १ मिनेटमा भने नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) बाट एकैपटक १६ हजार कित्ता प्रतिकित्ता ९०० रुपैयाँभन्दा माथि ९१५ रुपैयाँ, ९२५ रुपैयाँ र ९४३ रुपैयाँमा नेप्सेको मार्केट अर्डर टाइप (एमकेटी) फिचर प्रयोग गरेर ५ प्रतिशतले बढाएर कारोबार भएको देखिन्छ। 

सधैँ कारोबारमा टप रहने ब्रोकर नं. ५८ ले एनटीसीको सेयर विगत दुई कारोबार दिनमा पनि उच्च खरिदबिक्री गरेको देखिन्छ। यो ब्रोकरको फ्लोरसिट हेर्ने हो भने आज अन्तिम मिनेटमा १६ हजार कित्ता सेयर खरिद गरेको प्रस्टै देखिन्छ। तर, यहाँ अनौठो के छ भने यति धेरै सेयर कारोबार अन्तिम समयमा हुँदा पनि नियामक निकायले कहिल्यै देख्दैन र खोज्दैन पनि।