-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सेयर कारोबार राफसाफका लागि प्रयोग हुने इडीआइएसलाई अटोमेटिक बनाउन गृहकार्य थालेको छ । 

नेप्सेले अटोमेटिक डीआइएस हुने गरी ‘अटो डिआइएस सेवा’ संचालनको गृहकार्य थालेको हो । 

नेप्सेका का.मु. प्रबन्धक निरञ्जन फुँयालले बिजशालासँग कुरा गर्दै धितोपत्रको खरिदबिक्री पछि राफसाफका लागि बिक्रीकर्ताको खाता अटोमेटिक डेबिट हुने बनाउन गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

नियामक सेबोनसँग यससम्बन्धमा आवश्यक कानून निर्माण गरी अटो डीआइएस संचालन गरिने फुँयालले जानकारी दिए । 

नेप्सेको अनलाइन ट्रेडिङ्ग सिस्टममा सहभागी कारोबारीले मात्र यो सुविधा पाउनेछन् ।

अहिले सेयर कारोबार राफसाफका लागि भौतिक रुपमा डीआइएस वा इडीआइएस प्रयोग भइरहेकामा अब अटो डीआइएस प्रणाली लागू हुने र यसका कारण क्लोज आउटको समस्या निराकरण हुने बताइएको छ ।

यस किसिमको व्यवस्था भएको खण्डमा सेयर बजारमा पारदर्शिता कायम भई बजार गतिशील हुने आशा गरिएको छ । 

सिडिएससीको ‘मेरो  सेयर’मार्फत  इडीआइएसको  संख्यामा  निरन्तर  बढे पनि क्लोजआउट  र  बजारमा  केही  खातामा  नभएका  सेयरहरु समेत  लगानीकर्ताहरुले बिक्री  गर्ने  प्रवृतिहरु  भइरहेकाले  अटो  इडीआइएसले  बजारमा  स्वच्छता ल्याउन सहयोग पुग्ने जानकार बताउँछन् ।