काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले साउनदेखि अनलाइनमार्फत दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था कार्यान्वयनको अन्तिम तयारी भइरहेको बताएका छन् । 

हालै खोटाङको दिक्तेल बजारमा आयोजित पूँजीबजार लगानीकर्ता सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले यस्तो जानकारी दिएका हुन् । 

उनले साउनदेखि अनलाइन कारोबार प्रणाली कार्यान्वयनका सबै तयारी लगभग पूरा भइसकेको उल्लेख गर्दै अब नेपालको पूँजीबजार समेत नयाँ युगमा प्रवेश गर्ने दाबी गरे ।

सो क्रममा बोर्ड अध्यक्ष कार्कीले पूँजीबजारमा उतारचढाव हुने भएकाले यस्तो अवस्थामा लगानीकर्ताले अझ सुझबुझपूर्ण तरिकाले यससम्बन्धी ज्ञान अभिबृद्धि गरी लगानी गर्न आवश्यक रहेको बताए । बोर्डले यस्तै किसिमको प्रशिक्षण कार्यक्रम गरी जनचेतना फैलाउने क्रममा दुर्गम जिल्लालाई समेत महत्व दिई कार्यक्रम गरिएको बताउँदै नेपालका सबै जिल्लाबाट सार्वजनिक निष्काशनमा आवेदन दिनसक्ने व्यवस्था गरिसकेको र आगामी साउनबाट अनलाईनमार्फत दास्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गर्न अन्तिम तयारी भईरहेको बताएका थिए ।

देश संघीय संरचनामा गएको र स्थानीय रुपमा विकासका लागि आवश्यक रकम यस बजारबाट स्थानीय ऋणपत्र निष्काशनमार्फत जुटाउन सकिने भएकोले सोतर्फ सम्बन्धित पक्षहरुको ध्यान जान जरुरी रहेको समेत उनले बताए । 

सो कार्यक्रममा खोटाङका प्रमुख जिल्ला अधिकारी  सुरेन्द्रराज पौडेलले हालैका दिनहरुमा विभिन्न जलविद्युत कम्पनीहरुले सार्वजनिक निष्काशन गरेको हुँदा यसले धेरैतिर शेयर सम्बन्धी जिज्ञासाहरु बढेको बताउँदै खोटाङ जिल्लाको आर्थिक गतिविधिलाई पूँजीबजारसंग जोडिनुपर्ने सन्दर्भमा बोर्डले आयोजना गरेको जनचेतना अभिबृद्धि तथा लगानीकर्ता प्रशिक्षण कार्यक्रम सान्दर्भिक रहेको टिप्पणी गरे ।

जिल्ला समन्वय समितिका सभापति बबि चाम्लिङले खोटाङ जिल्लामा जलविद्युत आयोजनाहरुको समेत संम्भावना रहेको र उक्त क्षेत्रको विकासको लागि स्थानीय पूँजी परिचालन गरी खोटाङवासीलाई पूँजीबजारमा सहभागी गराउन सकिने धारणा राखेका थिए ।

कार्यक्रमका सहभागीले खोटाङमा समेत धितोपत्र दलाल व्यवसायी रहने व्यवस्था हुनुपर्ने माग सहित, अनलाईन व्यवस्था, करको दर, आस्वा प्रणाली, एफपिओ, डिम्याट, डिपीको बारेमा जिज्ञासा राखेका थिए ।