काठमाण्डौ । घट्दो पूँजीबजारको बिषयमा विश्लेषकहरुले आफ्ना धारणाहरु सार्वजनिक गर्ने क्रम जारी छ । अधिकांशको धारणा अब स्थिर सरकार बन्ने भएकोले बजारले गति लिने भन्नेमै केन्द्रीत छ । यही क्रममा सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत(सीइओ) राजेन्द्रप्रसाद पौडेलले सरकार गठनपछि बजारले फड्को मार्ने प्रक्षेपण गरेका छन् । 

बिजशालालाई विशेष अन्तर्वार्ता दिंदै सीइओ पौडेलले बजार घट्नुुपर्ने ठूला कारण केही नभएको उल्लेख गर्दै नयाँ सरकार गठनपछि फड्को मार्ने दाबी गरेका हुन् । 

‘नयाँ सरकार गठनसँगै बजारले फड्को मार्छ ।’ उनले भने–‘त्यसपछि पनि बजार माथि गएन भने पूँजी पलायनको ठूलो संभावना देख्छुु ।’ 

उनले सेयर बजारको बिषयमा राम्रो ज्ञान भएका केही लगानीकर्ता बजार अझ घटेर तल जाओस् र राम्रा कम्पनीको सेयर किनौला भनेर ‘पर्ख र हेर’को रणनीतिमा रहेका उल्लेख गर्दै थपे–‘बजारमा आउने गोल्डेन अवसरलाई समात्न भनेर राम्रो ज्ञान भएका लगानीकर्ता पर्खेर बस्नुुभएको छ । किनभने बजार जब घट्छ, अनि मात्र बढ्ने हो भन्ने कुरा उहाँहरुलाई राम्रोसँग थाहा छ ।’ 

पूँजीबजार देशको अर्थतन्त्रको ऐना भएको उल्लेख गर्दै बजार बढेन भने समृद्धि र विकास युुग समेत सुरु हुन नसक्ने उनले दाबी गरे । 

उनले पूँजीबजारमा समेत निकै ठूलो लगानी रहेकोले यसलाई ठूलो उद्योगको रुपमा स्वीकार गरी यसको संरक्षण, लगानीकर्ताको लगानीको हितको बिषयमा अब बन्ने सरकार गम्भीर बन्नुुपर्ने सुुझाए । उनको भनाइमा अब गठन हुने सरकारले आर्थिक विकास, समृद्धि लगायतका बिषयमा लिने नीतिले समेत बजारको भविष्य निर्धारण गर्नेछ । 

(सीइओ पौडेलसँगको विस्तृत अन्तर्वार्ताका लागि बिजशाला डटकम भिजिट गर्दै गर्नुहोला।)