काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रतिभावित अमेरिकाको न्युयोर्क सहरका गभर्नर एन्ड्रयु कुमोले यो भाइरस सबैभन्दा अमेरिकामा युरोपबाट आएको बताएका छन्। ‘यो भाइरस चीनबाट अमेरिका भित्रिएको होइन, युरोपबाट भित्रिएको हो, अहिलेसम्म भएका रिसर्चले यही देखाउँछ’, उनले भने। 

गभर्नर कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको यात्रा प्रतिबन्ध ढिला हुँदा पनि यो संक्रमण फैलिएको बताए। ‘अहिले यो भाइरस रोकिने छाँटकाँटै छैन’, उनले भने। 

गभर्नर कुमोले राष्ट्रपति ट्रम्पले चीनबाट मानिसलाई आउजाउमा गत फेब्रुअरी २ देखि लगाए पनि त्यसको १ महिनाअघि नै कोरोनाका बिरामी चीनमै मात्र सीमित रहेकोे खबर आएको बताए। ‘यसको अर्को महिना अमेरिकाले युरोपबाट आउजाउमा प्रतिबन्ध लगायो’, उनले भने, ‘त्यतिखेरसम्म अमेरिकामा यो भाइरस थुप्रैमा फैलिसकेको थियो।’ 

यसैबीच विश्व महामारीबाट अतिप्रभावित अमेरिकाबाट सकारात्मक खबर आएको छ। 

पछिल्लो २४ घन्टामा अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या पछिल्लो तीन हप्तायताकै कम देखिएको हो। 

जोन हप्किङ्स विश्वविद्यालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा अमेरिकामा १ हजार २५८ जनाको ज्यान गएको छ। यो संख्या पछिल्लो तीन सातायताकै कम हो। 

हिजो बिहीबार साँझसम्म अमेरिकामा ३ हजार १७६ जनाको ज्यान गएको थियो। 

अमेरिकामा शनिबार बिहानसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ। अमेरिकामा संक्रमितको संख्या ९ लाख पुगेको छ। मृत्यु र संक्रमितको संख्या अमेरिकामा अन्य देशको तुलनामा निकै बढी हो। – एजेन्सी