काठमाण्डौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पनि बैंकको ब्याजदर घटाउन सकिने बताएका छन्। 

प्रतिनिधिसभामा मंगलबार प्रि–बजेट छलफलमा अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेको हुन्। ‘अहिलेकै अवस्थामा पनि बैंकको ब्याजदर घटाउन सकिन्छ’, उनले भने, ‘सरकार र राष्ट्र बैंकले के हेरर बसिरहेको छ।’

उद्योगी–व्यवसायीको आशा जगाउने काम किन गर्न नसकेको भन्दै अध्यक्ष लिङ्देनले सरकारमाथि प्रश्न उठाएका छन्। ‘विद्युत उत्पादनमा हामीले वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने भनेर बजेटका प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘तर, आज वैदेशिक लगानीको मात्र कुरा गरिरहेका छौँ। हामीले वैदेशिक लगानीमात्रै होइन स्वदेशी लगानीलाई पनि प्राथमिकतामा राख्नुपर्छ।’ 

स्वदेशी लगानीलाई प्राथमिकता दिन नीतिहरुमा परिवर्तन गर्नुपर्ने लिङ्देनले बताए। ‘तर, हाम्रो मुलुकमा कर तिर्न पनि घुस खुवाउनुपर्ने अवस्था रहेकोले कोही उद्योग–व्यवसाय गर्न तयार छैनन्’, उनले भने, ‘उद्योगी–व्यवसायी पलायन हुनुपर्ने अवस्था छ।’

त्यसैले विदेशी लगानी भित्र्याउने होइन स्वदेशी लगानीलाई प्रोत्साहित गर्ने नीति ल्याउनुपर्ने लिङ्देन बताउँछन्। ‘तर, म विदेशी लगानीको विरोधी भने होइन’, उनले भने। 

विद्युतमा विदेशी लगानीलाई जोड दिन नदिने लिङ्देनको तर्क छ।