– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाली सेयर बजार विगत केही महिनादेखि निरन्तर घट्दो क्रममा छ।
बैंकमा लगानी योग्य रकमको कमी, लगानीकर्ताको मनोविज्ञान, राष्ट्र बैंकको नीति लगायतले बजारमा प्रभाव पारेको वित्तीय जानकारहरु बताउँदै आएका छन्। साताको ३ दिन कारोबार हुँदा बजार कुल ८६.१ अंकले घटेको बजार आज भने ४०.६८ अंकले बजार बढ्दा २.२५ अर्ब कारोबार भएको छ।
सन् २०२२ यता हरेक बुधबार घट्ने गरेको बजार आज एकाएक बढेको हो। लगानीकर्तामा पनि बुधबार फोबिया भएको देखिन्थ्यो। सन् २०२२ यता कुल ११ बुधबार कारोबार हुँदा बुधबारमात्र कुल ३२९.४१ अंकले बजार घटेको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल लगानीकर्ता कन्फिडेन्ट नहुँदा अहिले बजार घटेको बताउँछन्। ‘बजार अहिले घट्नुपर्ने कारण त्यस्तो केही छैन। त्यसैले अहिले बजार धेरै तल आएकाले बढ्ने निश्चित छ। आजबाट बजार बढ्न सुरु भएको पनि देखिन्छ’, उनले भने, ‘बजार घटेको करिब ७ महिना भयो। बजारमा अहिले ठूलो पुँजीकरण भएका नयाँ कम्पनीहरु थपिएका छन्। तर, अहिले बजार १२०० विन्दुको सेरोफेरोमा आएको छ। त्यसैले अहिले बजार धेरै तल आएकाले वित्तीय अवस्थाले राम्रो भएको राम्रा कम्पनीहरुमा लगानी गर्ने बेला हो। आज गरेको लगानीले अबको ६ महिनादेखि एक वर्षसम्ममा राम्रो प्रतिफल सजिलै लिन सकिन्छ।’
आज बुधबार बजार बढेको प्रतिक्रिया जनाउँदै सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले बजारमा बुधबार फोबिया तोडिएको बताए। ‘मार्केटलाई ड्राइभ गर्ने दुईवटा मुख्य तत्व हुन्छन्– बजारको मनोविज्ञान र फन्डामेन्टल। टेक्निकललाई म सहायक मान्छु’, बास्तोला भन्छन्, ‘५ दिन लगातार बजार घटेर सामाजिक सञ्जालमा भएको बुधबार फोबियाको हल्ला तोडिएको छ। बजारमा यस्तै मनोविज्ञान बन्ने प्रक्रिया तोडिनुका साथै तरलता सहज भएमा बजार फर्किने प्रबल सम्भावना छ।’
लगातार घट्दो क्रममा रहेको बजार बढ्नु स्वाभाविक रहेको बास्तोला बताउँछन्। ‘आजको बजार हेर्दा घट्ने प्रक्रिया रोकिएको देखिन्छ। त्यसैले तरलता सहज भएको खण्डमा बजार बढ्ने सम्भावना उच्च देखिन्छ’, उनले भने।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले बजारलाई सकारात्मक प्रभाव पार्ने कुनै पनि सकारात्मक न्युज नआएकाले आज खेलाडीहरुले बजार बढाएर सेयर बेचेको बताइन्। ‘चुनावको घोषणापछि बजार निरन्तर घट्दो क्रममा छ। आज भने बजार घटाएर सस्तोमा सेयर किनेका खेलाडीहरुले आज बजार बढाएर प्रोफिट बुक गरे’, उनले भनिन्, ‘तरलता सहज हुनुका साथै नीतिगत सुधार नभएसम्म बजार केही दिन यस्तै रहनेछ।’
स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की करिब ६–७ महिनादेखिको करेक्सन सकिएर आज बजारले बढ्ने संकेत देखाएको बताउँछन्। ‘विगतका वर्षहरुमा हेर्दा पनि यो समय बजार करेक्सन नै हुने गरेको छ’, कार्की भन्छन्, ‘तर, अब भने करेक्सन सकिएको देखिन्छ। बजारमा हिजो भएको कारोबारले पनि बजारले फर्किने संकेत देखाएको थियो। त्यसैले अब बजार विस्तारै माथि जाने देखिन्छ।’
‘बजार निरन्तर घटेसँगै बजारमा अहिले सेलर नै छैनन्। त्यसैले आज बजारले स्वाभाविक रुपमा प्रतिक्रिया दिएको हो’, कार्कीले भने, ‘बजारमा करेक्सन सकिएसँगै अब बुधबार वा बिहीबार सरोकारको विषय बन्दैन।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago