– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरुको आयातमा कडाइ गरेको छ।
केन्द्रीय बैंकले करिब ३०० वटा वस्तुको आयातमा कडाइ गरेको हो। राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरुलाई गाडी, सुनलगायत वस्तुको आयात रोक्न प्रतीतपत्र (एलसी) नखोल्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले विलासिताका वस्तुहरुको आयातमा गरेको कडाइले समग्र अर्थतन्त्र र पुँजी बजारमा कस्तो पर्ला ? भन्ने आमनागरिकको चासोको विषय बनेको छ।
बजार विश्लेषक मुक्ति अर्याल राष्ट्र बैंकले आयातमा कडाइ गर्ने निर्देशनले सेयर बजारलाई प्रत्यक्ष असर नगरे पनि बजारमा लगानीका लागि सकारात्मक माहौल भने बन्न सक्ने बताउँछन्। ‘राष्ट्र बैंकले अहिले आयातमा कडाइ गरेको छ। आयात गर्दा पैसा बैंकिङ प्रणालीबाट मुलुक बाहिर जान्छ। तर अहिले तरलता चापले गर्दा बैंकले कर्जा प्रदान गर्ने अवस्था पनि छैन’, अर्याल भन्छन्, ‘त्यसैले आयात ठप्प हुँदा आयातमा लाग्ने रकम सेयर बजारमा नै आउँछ भन्ने यकिन साथ भन्न सकिन्न। तर, अहिले बजार घटेर न्यूनतम विन्दुमा आएकाले लगानी गर्ने वातावरण बन्नुका साथै लगानीकर्ताले बजारमा अवसर देखेको खण्डमा भने केही पुँजी सेयर बजारमा पनि आउने सम्भावना भने प्रबल छ।’
राष्ट्र बैंकले आयातमा कडाइ गर्दैगर्दा सरकारको राजस्व भने घट्ने अर्याल बताउँछन्। उनी भन्छन्, ‘५० लाखको गाडी खरिद गर्दा १५–१६ लाख रुपैयाँ मुलुक बाहिर जान्छ। बाँकी रकम बने भन्सार लगायत विभिन्न कर प्रयोजनका लागि सरकारलाई तिर्नुपर्छ। त्यसैले आयातमा कडाइ सरकारको गर्दा राजस्व संकलन भने घट्छ।’
वित्त विश्लेषक हेमन्त बस्याल पुँजी बजार र तरलताको प्रत्यक्ष सम्बन्ध रहेको बताउँछन्। ‘राष्ट्र बैंकले आयातलाई प्रतिस्थापन गर्ने, रेमिटेन्स प्रोत्साहन गर्नेजस्ता नीतिले तरलता सहज हुने सम्भावना उच्च छ’, उनले भने, ‘राष्ट्र बैंकले आयातलाई कडाइ गर्दा अल्पकालमा आयातमा खर्च हुने पुँजीसेयर बजारमा आउन सक्ने देखिन्छ। तर, दीर्घकालीन रुपमा भने तरलता सहज भएसँगै बजारमा पनि सकारात्मक असर गर्ने देखिन्छ।’
एलसी नखोल्नु भनेको आयातलाई दुरुत्साहन गर्नु रहेको बस्याल बताउँछन्। ‘राष्ट्र बैंकको निर्देशनले स्वदेशमै उत्पादनलाई प्रवर्द्धन गर्ने नीतिअनुसरण गरेको बुझिन्छ’, उनले भने, ‘उक्त निर्देशनले ब्यालेन्स अफ पेमेन्ट (बीओपी) पोजेटिभ हुनुका साथै मासिक २० अर्बजति आयात संकुचित हुने र मनी सप्लाई बढ्ने भएकाले सेयर बजारलाई पनि सकारात्मक प्रभाव पर्ने सम्भावना उच्च छ।’
इफिसियन्ट इकोनोमीमा १ अर्ब बीओपी पोजेटिभ हुँदा ३३.३३ अर्बबराबरको तरलता प्रदान हुनुका साथै आन्तरिक बजार र आर्थिक गतिविधि बढ्ने बस्यालको भनाइ छ। ‘रेमिट्यान्सका साथै वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दो छ’, बस्याल भन्छन्, ‘सरकारले अरुबेला आयातमा गर्ने खर्च यसपटक स्थानीय निकायको चुनावमा मुलुकभित्र नै खर्च गर्दैछ। त्यसैले तरलता केही सहज भएसँगै पुँजी बजारमा दीर्घकालमा भने सकारात्मक प्रभाव पर्ने देखिन्छ।’
पेट्रोलियम पदार्थ आयातमा ठूलो पुँजी मुलुक बाहिर जाने गरेकाले आयात घटाउन अन्य विकल्पहरु अपनाउनु पर्ने बस्यालले बताए।
अर्का वित्त जानकार मुक्तिबहादुर खत्री राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चितीले परेको प्रेसर कम गराउन आयातमा कडाइ गर्ने उक्त निर्देशन जारी गरेको बताउँछन्। ‘राष्ट्र बैंकको उक्त निर्देशनले आजको भोलि नै सेयर बजारलाई धेरै प्रभाव हुन्छ भन्न सकिन्न’, उनले भने, ‘तर, कालान्तरमा आयातमा पुँजी पलायन नहुँदा उक्त पुँजी बजारमा नै आउन सक्ने देखिन्छ।’
राष्ट्र बैंकले विलासिताका वस्तुहरुको आयात रोक्ने निर्देशनले समग्र अर्थतन्त्र र बजारलाई नै सकारात्मक प्रभाव पर्ने खत्रीको भनाइ छ। ‘बजारमा अहिले पैसा भएको अवस्था भएको भए उक्त पुँजी अन्य क्षेत्रमा भन्दा सेयर बजारमा नै लगानीको लागि प्रयोग हुन्थ्यो’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago