काठमाण्डौ । बिमा, हाइड्रो र होटल क्षेत्रबाट लगानीकर्ताहरु बिस्तारै बैकिङतर्फ सिफ्ट हुन थालेका छन् । यसले बजारमा लामो अवधिमा बुलिस ट्रेण्डको वातावरण बनिरहेको देखिन्छ । बुलिस गतिमा कुदिरहेको देशको सेयर बजारमा पछिल्लो समय नयाँ नयाँ रेकर्डहरु बनिरहेका छन् । यो क्रमले बिहीबार पनि निरन्तरता पायो । 

यो दिन सबैभन्दा धेरैपटक कारोबार भएको नयाँ रेकर्ड बनेको हो । यसअघिको रेकर्डलाई समेत तोड्दै बिहीबार नेप्सेमा ५३ हजार २४३ पटक सेयर कारोबार भयो । सेयर कारोबारको यो संख्या सर्वाधिक हो। 

पछिल्लो समय नेप्सेको अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताहरुको संख्या बढिरहेको छ । यसले समेत बजारको ‘इन्ट्रा डे’ कारोबार संख्या र कारोबार भएका सेयर कित्ताको संख्यामा उछाल आइरहेको छ । 

पछिल्लो समय ८३ हजार भन्दा बढी लगानीकर्ता अनलाइन कारोबार प्रणालीमा आबद्ध भइसकेका नेप्सेको तथ्याङ्क छ । बजारमा हुने कुल कारोबारमध्ये ८० प्रतिशतभन्दा बढी अनलाइनबाटै भइरहेको छ । 

यसैगरी, लामो अवधिको लकडाउन र त्यसपछि लगाइएको निषेधाज्ञाका कारण जागिर गुमेका, व्यापार व्यवसाय बन्द भई बेरोजगार भएका र आम्दानीका स्रोतहरु गुमाएर समस्या परेकाहरुले समेत सेयर बजारमा लगानी गर्न थालेका छन् । यसले समेत पछिल्लो समय बजारको चार्म बढाइदिएको विश्लेषकहरु बताउँछन् । 

लकडाउन र निषेधाज्ञाकै अवधिमा खुलेका केही कम्पनीका आइपीओहरुले समेत लगानीकर्तालाई सेयर बजारप्रति आकर्षित गर्ने काम गरेका देखिन्छ । प्राथमिक बजारमा प्रतिकित्ता १०० रुपैयाँमा किनेको आइपीओको मूल्य दोश्रो बजारमा कारोबार भइसकेपछि केही दिनको अन्तरालमै बढेर ५ देखि १० गुणासम्म बढेको देखेपछि सेयर बजारबाट राम्रो रिटर्न आउने रहेछ भन्ने धेरै नयाँ लगानीकर्ताले बुझेका कारण समेत बजार पछिल्लो समय थप चलायमान भएको विश्लेषकहरु दाबी गर्छन् । 

निषेधाज्ञा धेरै खुकुलो भई आर्थिक गतिविधिहरु समेत सुचारु भइसके पनि रोजगारी गुमाएका, सानातिना व्यापार व्यवसाय बन्द भई घरमै थन्किएकाहरुले तत्काल पुरानै क्षेत्रमा जाने संभावना देखिन्न । यसकारण त्यस्ता लगानीकर्ताहरुले सेयर बजारलाई फूलटाइम कामको क्षेत्र बनाउन सक्छन् । यदि त्यस्तो भयो भने आगामी दिनमा बजारमा अझै माथि जाने निश्चित देखिन्छ । 

पछिल्लो समय बैंकहरुको ब्याजदर न्यून विन्दूमा झरेको छ । ठूला बैंकरुले समेत ७ प्रतिशत हाराहारीमा सेयर कर्जा अफर गरिरहेका छन् । त्यस्ता बैंकहरुमा सेयर कर्जाको माग निकै ठूलो छ । यसले समेत बजारमा नयाँ र पुराना 'हङ्ग्री इन्भेष्टर'हरुको दौडधूप जारी रहेको र यसले आगामी दिनमा खरीदतर्फको चाप बढाई नेप्सेलाई अझै माथि उठाउने प्रक्षेपणहरु भइरहेका छन् ।