– अनन्त्य सुन्दर

काठमाण्डौ । पुँजीबजारविरोधीलाई ‘नो भोट’ अभियान सुरु गरी सबै लगानीकर्ता संघसंगठनलाई एक ठाउँमा ल्याएर ‘महासंघ’ खडा गर्ने भनेर गत शुक्रबार तिलक कोइराला संयोजकत्वमा १०१ सदस्यीय ‘एकता समिति’ गठन भएको छ। 

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, पुँजी बजार संघ र लगानीकर्ता हकहित संरक्षण मञ्च गाभेर एकता समिति गठन गरिएको छ। संयोजक कोइरालाले बाँकी रहेका अन्य संघसंगठनलाई गाभेर ३ महिनाभित्र महाधिवेशन गरी पदको हस्तान्तरण गर्ने उद्घोष पनि गरेका छन्। 

नेपाली सेयर बजारमा अहिले झन्डै एक दर्जन लगानीकर्ता संघसंगठन छन्। तीमध्ये नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघ मात्र नेपाल धितोपत्र बोर्ड (सेबोन)मा दर्ता भएका छन्। दर्ता भएका तीनैवटा संगठनको कोइरालाले गत शुक्रबार आह्वान गरेको उक्त भेलामा उपस्थिति थिएन। 

दर्ता भएका संगठनका अगुवाहरु महासंघ गठनबारे आफूहरुबीच कुनै पनि आधिकारिक छलफल नभएको बताउँछन्। ‘आधिकारिक रुपमा दर्ता भएका लगानीकर्ता संगठनहरु ३ वटामात्र छन्। धितोपत्र बोर्ड, राष्ट्र बैंक वा कुनै पनि नियामक निकायमा आधिकारिक रुपमा सुझाव दिने पनि तीनै ३ संगठन हुन्। त्यसैले कुनै समूहले महासंघ बनाउन बोलाउँदैमा हामी जानुपर्छ भन्ने छैन’, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल भन्छिन्, ‘झन्डै ३२ हजार सदस्यीय भएको हाम्रो संगठन नै ७ प्रदेश ७७ जिल्लामा नै छ। त्यसैले नेपाल पुँजीबजार लगानीकर्ता संघ ‘महासंघ’भन्दा कम छैन। तर, आधिकारिक संगठहरुले आवश्यकता महसुस गरी ऐक्यबद्धता हुने प्रस्ताव आयो भने हाम्रो उपस्थिति अवश्य हुनेछ।’

बजारको सुधार र विकासका साथै लगानीकर्ताको मुद्दा लिएर आन्दोलन गर्दा होस् वा अनसन बस्दा आफूहरुले हरकोहीलाई सधैँ साथ र सहयोग गर्दै आएको पोखरेल बताउँछिन्। ‘त्यसैले अहिले नयाँ संगठन बनाउनेभन्दा पनि पुँजीबजार विकास र विस्तारका लागि कसरी महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ भनेर छलफल गर्न आवश्यक छ’, उनले भनिन्।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बजारमा आवश्यकता परेमा ३ वटा आधिकारिक संगठनहरु एकजुट भएर मर्जमा जान सक्ने बताउँछन्। ‘अहिले आधिकारिक ३ वटा संगठनहरुमात्र छन्’, फुल्लेल भन्छन्, ‘यी ३ वटा संगठनबीच अहिलेसम्म कार्यगत एकता भइरहेको छ। त्यसैले अहिले ‘महासंघ’को औचित्य देखिँदैन। तर, कुनै पनि कालखण्डमा महासंघ आवश्यक भएमा हामी एकजुट पनि हुन् सक्छौँ।’

बजारको राम्रो गर्न खोज्ने कुनै पनि संघसंगठनलाई आफूहरुको साथ र समर्थन सधैँ रहने पनि फुल्लेलले बताए। ‘अहिले आधिकारिक ३ वटा संगठनहरु छन्। त्यसैले भोलि नयाँ संगठन आएर ४ वटा भयो भने पनि हाम्रो साथ र समर्थन रहनेछ’, उनले भने।  

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल ‘महासंघ’ गठनबारे संगठनहरुबीच आधिकारिक छलफल नभएको बताउँछन्। ‘लगानीकर्ता संघसंगठनहरु पुँजीबजारको हकहित संरक्षणका साथै लगानीकर्ताको आवाज बुलन्द होस् भनेर गठन भएको हुन्’, ढकाल भन्छन्, ‘त्यसैले ३ वटा संघ मर्ज भएर ‘महासंघ’ गठन हुँदा समग्र बजारका लागि राम्रो हुन्छ। तर, त्यसका लागि आधिकारिक छलफल आवश्यक छ।’