काठमाण्डौ । ‘एनआईबिएल म्युचुअल फन्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’को सार्वजनिक निष्कासन भएको तेस्रोसम्म ४ करोडभन्दा बढी इकाइ खरिदका लागि आवेदन परेको छ। 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका अनुसार निष्कासनको तेस्रो दिनसम्म यो योजनाका कुल १६ करोड इकाइमध्ये ४ करोड १७ लाख २७ हजार ६०० इकाइ खरिदका लागि आवेदन परेको हो। 

गत पुस ७ गतेबाट सार्वजनिक निष्कासनमा रहेको योजनाको सार्वजनिक निष्कासन बन्द छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गते बैंकिङ समयपछि हुनेछ। इच्छुक लगानीकर्ताले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. १६ करोडसम्म लगानीका गर्न सक्नेछन्। लगानीकर्ताहरुले आफ्नो सी–आस्बा खाता रहेको बैंक वा मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 

यो योजनाको विवरण पुस्तिका एनआईबिएल एस क्यापिटल तथा नेपाल धितोपत्र बोर्डको वेबसाइटमा समेत राखिएको छ। 

यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ र यो हालसम्मकै सबैभन्दा ठूलो म्युचुअल फन्ड योजनाको सार्वजनिक निष्कासनसमेत रहेको छ। योजनाको अवधिभर यस योजनाले वार्षिक प्रतिफलका रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाइधनीलाई दिन सक्ने प्रक्षेपणसमेत गरेको छ।

‘एनआईबिएल ग्रोथ फन्ड’का इकाइहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको समयवधिसम्म दोस्रो बजारमा खरिद तथा बिक्री गर्न सकिनेछ।