काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड’ का इकाइहरु आज जेठ १९ गतेबाट बिक्री खुला गरिँदैछ। 

कोष प्रवर्द्धक एनआईसी एशिया बैंक र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेका यस बन्दमुखी योजनाका १० रुपैयाँ अंकित दरका कुल १० इकाइ बिक्री खुला गरिएको हो। कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको बिक्री गरिएको छ। 

यस योजनामा सर्वसाधारणले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइ खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। 

यो योजनाको निष्कासन बन्द छिटोमा जेठ २४ गते हुनेछ। यो अवधिमा सम्पूर्ण इकाइ बिक्री नभएको खण्डमा असार २ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट आवेदन दिने सकिनेछ। 

सातवर्षे यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत वैशाख २९ गते निष्कासन अनुमति दिएको थियो। 

एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने यो चौथो बन्दमुखी योजना हो। यो फन्डले योजना अवधिभरमा लगानीकर्तालाई १३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गर्ने प्रक्षेपण गरिएको छ।