काठमाण्डौ । एनआईसी एशिया फ्लेक्सी क्याप फन्डमा भोलि जेठ २५ गतेसम्म आवेदन दिन पाइने भएको छ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलका अनुसार आज जेठ २४ गतेसम्म यो फन्डको निष्कासन तथा बिक्री खुला गरिएको थियो। तर, संस्था तथा सर्वसाधारणबाट मागभन्दा बढी आवेदन प्राप्त भएकोले भोलि जेठ २५ गते बैंकिङसम्म आवेदन दिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ।
यो फन्डका रु. १० अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको छ। आज साँझ ५ः३० बजेसम्म ९२ हजार २९० आवेदकबाट १ अर्ब ६ करोडभन्दा बढी इकाइ खरिदका लागि आवेदन परेको छ।
क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन परेका कारण यो फन्डको आकार रु. १ अर्बबाट वृद्धि गरी रु. १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने हुँदा इकाइ खरिदका लागि भोलि जेठ २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको हो।
एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड ७ वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो। योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिनेछ। यो योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप र लार्ज क्याप गरी तीन समूहमा वर्गीकरण गरी जुन क्यापभित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूहअन्तर्गतका कम्पनीहरुमा लगानी गरिने क्यापिटलले जनाएको छ।
यो योजनामा न्यूनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सकिन्छ। इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आवेदन दिनुपर्नेछ।
उक्त फन्डमा लगानी गर्ने इकाइधनीलाई योजनाको अवधिभरमा १३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ। इकाइ खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19