काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबि सरल बचत फन्ड–ई’ को १.४८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ४ करोड इकाइ गत भदौ १७ गतेबाट बिक्री खुला गरिएको छ। निष्कासन गरिएका इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत इकाइ अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धधक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार आज भदौ २० गते बिहान १० बजेसम्म यस योजनामा ७१ हजार ३३३ आवेदकबाट ३ करोड ७० लाख ३ हजार ३० इकाइ खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १.४८ गुणाले बढीले हो। 

खुलामुखी यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यस योजनाको निष्कासन बन्द भोलि भदौ २१ गते बैंकिङ समयपछि हुनेछ। यस योजनालाई धितोपत्र बोर्डले गत साउन २२ गते निष्कासन अनुमति दिएको थियो।