काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबि सरल बचत फन्ड–ई’ २.७१ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

यो म्युचुअल फन्डमा आज भदौ २१ गते बैंकिङ समयसम्म आवेदन दिने म्याद थियो। आज साँझ ५ बजेसम्म यस योजनामा ९९ लाख ७०३ आवेदकबाट कुल ६ करोड ७९ लाख ५६ हजार ४३० इकाइ खरिदका लागि आवेदन परेको योजना व्यवस्थापक एनएमबि क्यापिटलले जनाएको छ। 

यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ४ करोड इकाइ गत भदौ १७ गतेबाट बिक्री खुला गरिएको थियो। निष्कासन गरिएका इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत इकाइ अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धधक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

यो हिसाबले सर्वसाधारण छुट्याइएको इकाइमा मागभन्दा २.७१ गुणा बढी आवेदन परेको हो। 

खुलामुखी यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्ने व्यवस्था थियो। 

यस योजनालाई धितोपत्र बोर्डले गत साउन २२ गते निष्कासन अनुमति दिएको थियो।