काठमाण्डौ । मुलुकभरका अधिकांश औद्योगिक क्षेत्र र त्यहाँ भएका उद्योगहरुमाथि घेराबन्दी गर्दै संकटमा पार्ने काम भएको उद्योगी–व्यवसायीहरुले बताएका छन्।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १८औँ वार्षिक साधारणसभा तथा १० औँ महाधिवेशनको उद्घाटन समारोमा उद्योगी–व्यवसायीले औद्योगिक क्षेत्रमा स्थानीयको अतिक्रमण तथा त्रास, राजनीतिक दलको हेपाहा व्यवहारदेखि स्थानीय सरकार र स्वयं औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसमेतले अन्याय गरिरहेको बताए।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले औद्योगिक क्षेत्रमा रहेको जग्गा तथा भवनको भाडामा उद्योगीमाथि अन्याय भइरहेको बताए। दशकपहिले स्थापित गौरवशाली औद्योगिक क्षेत्रहरु सार्नुपर्ने दबाब विभिन्न क्षेत्रबाट आउने गरेको भन्दै उनले सरकारले तत्काल उचित निर्णय लिन आवश्यक रहेको बताए। ‘आद्योगिक क्षेत्रलाई दिगो रुपमा सञ्चालन हुने वातावरण नदिएर उद्योगीलाई र निजी क्षेत्रलाई हतोत्साही गर्नुहुँदैन’, उनले भने, ‘सरकारले यस्ता विषयमा स्पस्ट दृष्टिकोण र निर्णय गरेर उद्योगी–व्यवसायीको संरक्षण गर्नुपर्छ।’
नेपालमा कुल ग्राहस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान अझै सीमित अवस्थामा रहेकाले यो बढाउने योजना आवश्यक रहेको अग्रवालको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पनि औद्योगिक क्षेत्र स्थापना हुने समयमा बस्तीबाट टाडा र सुरक्षित स्थानमा रहेको तर पछि मानव बस्ती स्थापना हुने र त्यही बस्तीले उद्योगलाई आँखी बनाउने गरेको भन्दै दुःख व्यक्त गरे।
कार्यक्रममा भक्तपुर औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष पवन मित्तलले भक्तपुर औद्योगिक क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले हैकम मच्चाइरहेको आरोप लगाए। ‘दलका कार्यकर्ताले त्यहाँका उद्योगीलाई विस्थापित गर्ने मनशायले हतोत्सायी गर्छन्, धम्क्याउछन्, सरकारले सुरक्षा प्रबन्ध नगरे काम गर्न सक्ने अवस्था छैन’, उनले भने। भक्तपुर महानगरपालिकाले पनि विभिन्न बहानामा चर्को कर असुल गरिरहेको उनले आरोप लगाए।
महासंघका अध्यक्ष रामहिरा पाठकले उद्योग प्रवर्द्धनको भूमिका निर्वाह गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड उद्योग प्रवर्द्धकको भूमिकामा नभएर नाफामात्र हेर्ने निकाय बनेको आरोप लगाए। उनले औद्योगिक क्षेत्रको प्रवर्द्धनका लागि जमिनको वर्गीकरण गरी औद्योगिक क्षेत्रमा बस्ती विकास हुन नदिने, जमिन लिज कार्यविधि तयार गरी कार्यान्वयन गर्नुपर्ने औद्योगिक क्षेत्रको भाडा वैज्ञानिक मापदण्डका आधारमा निर्धारण हुनुपर्ने, औद्योगिक क्षेत्रको पूर्वाधार प्रवर्द्धन र आधुनिकीकरणमा थप लगानी गर्नुपर्नेलगायतका सुझाव दिएका थिए। उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई यस्ता व्यवस्था गर्न निर्देशन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसमक्ष आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री रिजालले औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागिसरकार गम्भीर रहेको भन्दै आवश्यक उचित सहयोग गर्न सरकार तयार रहेको बताए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्वाधार विकासमा लगाउनुपर्ने रकम बैंकमा मुद्दति खातामा राखेर ब्याज खाइरहेको भन्दै उनले आलोचना गरे। उनले सो रकम परिचालन गर्न विशेष ध्यान दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिए।
मन्त्री रिजालले लिमिटेडमा नयाँ महाप्रबन्धक छिट्टै नियुक्त गर्ने तयारी गरिरहेको जानकारी दिए। उनले दुईवटा नयाँ औद्योगिक क्षेत्र थप गर्ने जिम्मेवारीसमेत दिइने बताए।
चितवनको शक्तिखोरमा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई आफूले उच्च प्राथमिकता दिएको समेत उनले बताए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड एक स्वयत्त निकाय भएको र त्यसको सञ्चालक समितिमा उद्योगी व्यवसायी पनि रहने भएकाले त्यही संरचनाबाटै निकास खोज्न आग्रह उनको थियो।
मन्त्री रिजालले सोही अवसरमा बालाजु औद्योगिक क्षेत्र परिसरभित्र रहेको महासंघको सचिवालय परिसरको पनि उद्घाटन गरेका थिए।
साधारणसभाले रामहिरा पाठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ। कार्यसमितिमा एजाज आलम, बाबुराम पन्त, विरेन्द्रनाथ भट्टराई, राजेश्वरलाल जोसी, सुदिप घिमिरे, कान्छा थापा र सुरेश कुमार शुक्ला सदस्य छन्। यस्तै महासंघको पदाधिकारी छनौट भने आगामी बैठकबाट गरिने अध्यक्ष पाठकले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19