काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका महासचिव फणिन्द्र ढकाल बालापानको दसैँ नै रमाइलो रहेको बताउँछन्। ‘त्यतिबेलाको दसैँ सम्झिँदा नै रमाइलो लाग्छ’, उनी भन्छन्, ‘दसैँमा एउटा भए पनि नयाँ लुगा लगाउन पाइने र मीठा खाने अर्थमा रमाइलो हुने गथ्र्यो।’

त्यतिबेला बाबियोको पिङ बनाउने चलन रहेको ढकाल सम्झिन्छन्। ‘बालपनमा बुवाले पिङ बनाउन बाबियो धारोमा झिजाएपछि दसैँ आएजस्तो लाग्थ्यो’, उनले भने, ‘कसको घरमा पहिले पिङ बन्छ ? भन्ने कौतहुल्ता हुन्थ्यो।’

दसैँ आएपछि स्कुल पनि लामो बिदा हुने हुँदा झनै रमाइलो हुने गरेको ढकाल बताउँछन्। ‘धेरैजसो दिन खेलेरै बित्थ्यो’, उनले भने। 

विगतको जस्तै यसपालिको दसैँ पनि काठमाण्डौमै मनाउने ढकालको योजना छ। ‘बुवा–आमामा पनि यतै हुनुहुन्छ’, उनले भने, ‘त्यसैले दसैँ काठमाण्डौमै मनाउँछौँ।’

पहिले र अहिलेको दसैँ तुलना गर्दै ढकाल भन्छन्, ‘धार्मिक मान्यतामा कम हुँदै गएको छ। अहिलेको दसैँ आयातीत भएको छ।’

सबैले आफ्नो गच्छेअनुसार मनाए दसैँ दशा नहुने ढकालको विचार छ। ‘दसैँ, तिहार र छठको उपलक्ष्यमा सबै साथीभाइ, इष्टमित्र र लगानीकर्तालाई शुभकामना दिन चाहन्छु’, उनले भने।