काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी धनवृद्धि योजना’का इकाइहरुको भोलि (जेठ १२ गते) देखि बिक्री खुला गरिँदैछ। 

कोष प्रवर्द्धक कुमारी बैंक लिमिटेड र योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको यो बन्दमुखी योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइहरुको बिक्री खुला गरिनेछ। कुल इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन पेस गर्न सक्नेछन्। यो योजनाको निष्कासन बन्द छिटोमा जेठ १७ गते हुनेछ। यो अवधिसम्म मागअनुसार आवेदन नपरेको खण्डमा सर्वसाधारणले जेठ २६ गते बैंकिङ समयसम्म खरिद आवेदन दिन पाउनेछन्।

यो योजनामा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। 

कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी धनवृद्धि योजना’ दोस्रो म्युचुअल फन्ड हो। यसअघि ‘कुमारी इक्युटी फन्ड’ सञ्चालनमा आइसकेको छ। 

‘कुमारी धनवृद्धि योजना’का मा लगानीकर्ताले किन लगानी गर्ने ? म्युचुअल फन्डले लगानीकर्तालाई दिने प्रतिफल, योजनाको लगानी रणनीति, क्यापिटलको भावी योजनालगायतका विविध विषयबारे बिजशालाकर्मी अनन्त्य सुन्दरले कुमारी क्यापिटलका चिफ अपरेटिङ अफिसर पुष्प शर्मासँग राखेका जिज्ञासाको सारसंक्षेप–

‘कुमारी धनवृद्धि योजना’ कस्तो योजना हो?

यो बन्दमुखी सामूहिक लगानी योजना हो। प्रतिइकाइ १० रुपैयाँ दरको १ अर्ब २० करोड रुपैयाँको १० वर्षे योजनामा लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्म ‘मेरो सेयर’का साथै आस्बाबाट आवेदन दिन सकिन्छ।

कुमारी धनवृद्धि योजनाले कस्तो लगानी रणनीति अपनाउनेछ ? 

यस योजनाअन्तर्गत संकलन भएको रकमको ६० प्रतिशत हिस्सा सूचीकृत कम्पनीमा र ३५ प्रतिशत रकम निश्चित आय भएको धितोपत्र लगानी गरिनेछ। बाँकी ५ प्रतिशत भने इकाइधनीहरुलाई उत्कृष्ट प्रतिफल दिनका लागि बजारमा आउने अवसरहरुलाई समयमा नै पहिचान गरेर लगानी गर्नका लागि छुट्याइने छ।

जोखिमका आधारमा कुमारी धनवृद्धि योजना कस्तो किसिमको योजना हो ?

फन्डको अधिकांश हिस्सा सूचीकृत कम्पनीमा र बाँकी हिस्सा निश्चित आय भएका धितोपत्रहरुमा लगानी गरिनेछ। निश्चित आय भएका धितोपत्रहरुमा लगानी गरिने भएकाले बजारमा उतारचढाव हुँदा पनि लगानीकर्ताले प्रतिफल भने पाउने छन्। त्यसैले जोखिमको आधारमा कुमारी धनवृद्धि योजना मध्यम किसिमको जोखिम भएको योजना हो।    

कुमारी धनवृद्धि योजनामा लगानी गर्ने इकाइधनीहरुले कस्तो प्रतिफल पाउने छन् ?

यस योजनामा लगानी गर्ने इकाइधनीहरुलाई वार्षिक २२ प्रतिशतसम्म प्रतिफल दिने हाम्रो लक्ष्य रहेको छ। इकाइधनीहरुले योजना सुरु भएको २ वर्ष १०–१० प्रतिशत दिने हाम्रो लक्ष्य छ। त्यसपश्चात ४ वर्षसम्म हरेक वर्ष १२ प्रतिशत र त्यसपछिको २ वर्ष १५–१५ प्रतिशत प्रतिफल दिने हाम्रो लक्ष्य रहेको छ। अन्तिम वर्ष १० प्रतिशत प्रतिफल इकाइधनीहरुलाई दिने र अन्तिम १० वर्षमा फन्डको न्याभ २२ रुपैयाँ कायम गर्ने हाम्रो लक्ष्य रहेको छ। 

कुमारी धनवृद्धि योजना अन्य म्युचुअल फन्डको तुलनामा इकाइधनीहरुले कस्तो किसिमको फरक अनुभूति पाउनेछन् ?

बजार २६०० हुँदा हामीले पहिलो स्किम, ‘कुमारी इक्विटी फन्ड’ सञ्चालनमा ल्याएको थियौँ। उक्त स्किम सुरु भएको दिनदेखि आजसम्म हाम्रो न्याभ नेगेटिभ छैन। त्यसैले क्यापिटलको विज्ञ टिमले रिसर्च गर्नुका साथै उचित लगानी रणनीति अपनाएर कुमारी धनवृद्धि योजनाअन्तर्गत संकलन भएको रकम पनि दीर्घकालीन हिसाबले लगानी गर्नेमा लगानीकर्ता ढुक्क भए हुन्छ। 

क्यापिटलले उक्त योजनाअन्तर्गत संकलन भएको रकम अर्थतन्त्र साथै बजारको अवस्था अध्ययन गरेर इकाइधनीहरुलाई दीर्घकालीन र कम्पाउन्डिङ रिटर्न दिने गरी लगानी गर्नेछ। हामीले बुझाइ र अध्ययनअनुसार अहिले बजार न्यूनतम विन्दुमा आएकाले लगानी गर्ने उचित समय हो। त्यसैले हाम्रो यस योजनाअन्तर्गत संकलन भएको रकम उत्कृष्ट प्रतिफल दिने सूचीकृत कम्पनीहरुमा लगानी गर्ने रणनीति रहेको छ।

नेपालमा पछिल्लो समय लगानीकर्ता म्युचुअल फन्डमा भन्दा आफैँ दोस्रो बजारमा लगानी गर्न रुचाउँछन्। नेपाली बजारमा किन लगानीकर्ताको म्युचुअल फन्डमा कम आकर्षण रहेको छ ?

लगानीकर्ताहरुको बजारमा आफैँले लगानी गर्दा प्रतिफल उच्च आउने आँकलनले दोस्रो बजारमा आफैँ लगानी गर्ने गरेका छन्। तर, बजारमा उच्च प्रतिफल खोज्दै गर्दा जोखिम पनि उच्च नै हुन्छ। त्यसैले बजार बढ्दा धेरै नाफा हुँदै गर्दा बजार घट्दा धेरै घाटा हुने सम्भावना पनि उच्च हुन्छ।

एक्सपर्ट टिमहरुले अध्ययन–अनुसन्धान गरेरमात्र म्युचुअल फन्डको रकम विभिन्न क्षेत्रका विभिन्न कम्पनीहरुमा लगानी गरिन्छ। त्यसैले आफैँले लगानी गर्नुको तुलनामा म्युचुअल फन्डमार्फत लगानी गर्दा बजार घट्दा हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ।  

अन्त्यमा, कुमारी क्यापिटलको भावी योजना के–के छन् ? 

हाम्रो धितोपत्र बोर्डमा खुलामुखी फन्ड पाइप लाइनमा रहेको छ। त्यसका साथै क्यापिटलले आउने दिनमा कर्पोरेट एडभाइजरी र पोर्टफोलियो म्यानेजमेन्टलाई पनि निरन्तरता दिनेछ।