काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी धनवृद्धि योजना’का इकाइहरु खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ।
कोष प्रवर्द्धक कुमारी बैंक लिमिटेड र योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको यस बन्दमुखी योजनाका इकाइहरु गत जेठ १२ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनाको निष्कासन बन्द छिटोमा आज जेठ १७ गते हुने भनिएको थियो।
मागबमोजिम आवेदन नपरेका कारण अब योजनाको निष्कासन बन्द ढिलोमा जेठ २६ गते बैंकिङ समयपछि हुने कुमारी क्यापिटलले जनाएको छ। यो अवधिमा मागभन्दा बढी संख्यामा आवेदन परेमा सूचना प्रकाशित गरी जेठ २६ गते अगाडि नै निष्कासन बन्द गर्न सकिने पनि क्यापिटलले प्रस्ट पारेको छ।
यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइहरुको बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन पेस गर्न सक्नेछन्।
यस योजनामा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।
यो योजनालाई धितोपत्र बोर्डले गत वैशाख २२ गते निष्कासन अनुमति दिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago