काठमाण्डौ । कोभिड १९ को संक्रमणको प्रभाव नेपाली अर्थतन्त्रमा गहिरो रुपमा पर्ने अर्थमन्त्रालयले विश्लेषण गरेको छ । 

मन्त्रालयले प्रत्येक महिना सार्वजनिक गर्ने अर्थ बुलेटिनको चैत महिनाको अंकको सम्पादकीयमा यस्तो विश्लेषण गरिएको हो । 

कोभिड १९ को संक्रमण चीन लगायतका अन्य मुलुकहरुमा फैलिएको कारण पर्यटक आगमनमा संकुचन आएको छ भने व्यापार, निर्माण लगायतका विभिन्न आर्थिक क्रियाकलापमा समेत प्रत्यक्ष प्रभाव परेको छ । बुलेटिनमा विश्लेषण गर्दै भनएिको छः कोभिड १९ को संक्रमण विश्वका अधिकांश मुलुकमा बढ्दै गएको हुनाले आगामी दिनहरुमा यसको प्रभाव विश्व अर्थतन्त्र र नेपालको अर्थतन्त्रमा पनि गहिरो रुपमा पर्ने देखिन्छ । 

अर्थले फागुन महिनासम्मको अवधिमा अधिकांश प्रमुख आर्थिक सूचकहरु भने सकारात्मक नै रहेका प्रष्ट्याएको छ । 

कुल सरकारी खर्च लक्ष्य बमोजिम हुन नसकेपनि गत वर्षको तुलनामा उच्च नै रहेको उल्लेख गर्दै अर्थले पैठारीमा संकलन हुने कर राजश्वमा संकुचन आएता पनि समग्र राजश्व परिचालन सन्तोषप्रद नै रहेको बताएको छ । 

वैदेशिक सहायताको प्रतिबद्धतामा वृद्धि भएको, निर्यात निरन्तर बढ्दै गएको तथा वस्तु आयात घटेको उल्लेख गर्दै अर्थले आफ्नो विश्लेषणमा भनेको छ-'यसकारण व्यापार घाटामा कमी आएसँगै व्यापार असन्तुलनमा पनि सुधार हुँदै गएको छ । शोधानान्तर स्थितिमा पनि सुधार भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा पनि वृद्धि भएको छ ।'