-धर्म मलासी
काठमाण्डौ । हरेक साताको पहिलो दिन अर्थात प्रत्येक आइतबार ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान र सेयर बजारको बारेमा उनीहरुको धारणा जान्न हामीले थालेको स्तम्भ ‘ग्राउण्ड जिरो’ लिएर आज पनि हामी उपस्थित भएका छौ । यसको सिलसिलामा आज हामी राजधानीका केही ब्रोकर हाउसमा पुगेका थियौ । हामी त्यहाँ पुग्दा हामीले देखेका र सुनेका विषयवस्तुहरु आज पनि यहाँ प्रस्तुत गर्दैछौ ।
कारोबारको पहिलो प्रहरमा हामी बानेश्वरस्थित लिञ्च स्टक मार्केट पुगेका थियौ । लगानीकर्ताका लागि भनेर छुट््टाइएका सबै सिट भरिएकाले अरु उभिएरै भए पनि बजारको जानकारी लिन आफ्ना नजर डिस्प्ले स्क्रिनतर्फ सोझ्याइरहेका थिए । बाहिर मौसम चिसो भए पनि भित्र भने लगानीकर्तामाझ सेयर बजारको सरगर्मी भने बढेको देखिन्थ्यो । कसैका नजर डिस्प्ले स्क्रिनतर्फ थिए भने कसैका आफ्नै मोबाइलमा । मोबाइलमार्फत भए पनि उनीहरु बजारका हरेक गतिविधि र उतारचढाव नियालिरहेका देखिन्थे ।
बेला बेलामा केही लगानीकर्ता एकआपसमा कानेखुशी गरेको पनि सुनिन्थ्यो(देखिन्थ्यो) । उनीहरुको गन्थनको विषयमा सेयर बजारको गतिविधिदेखि लिएर देश विदेशका समसामयिक घटनाक्रमले पनि ठाउँ पाइरहेका थिए । गन्थनकै क्रममा एक लगानीकतले आफू एक वर्षको अन्तरालपछि ब्रोकर हाउस आएको बताए । ‘घरदेखि एउटा मानसिकता लिएर आयो यहाँ आएपछि अनेकथरि मानिसका अनेकथरि कुरा सुनेपछि त्यो मानसिकता नै परिवर्तन हुने भएकाले म त ब्रोकर हाउस धाउन छाडेको थिएँ । बजार बढ्ने क्रम सुरु भएपछि भने वर्तमान सेयर बजारको अवस्था बुझ्न आएको हुँ ।’ उनले भने । नेपाली लगानीकर्ता हल्लाको भरमा चल्ने भन्दै उनले थपे–‘प्राय लगानीकर्ताले आफ्नो स्वविवेक कम प्रयोग गर्छन र बजारको यथार्थ अवस्था थाहा नपाउँदा घाटा व्यहोर्छन ।’
उनको धारणामा समर्थन जनाउँदै अर्का एक लगानीकर्ताले लगानी गर्दा कम्पनीको पछिल्लो ३ वर्षसम्मको प्रगति विवरण हेर्नुपर्नेमा जोड दिएको सुनियो । ‘कुनै पनि कम्पनीको लाभांश इतिहास, कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) र कम्पनीको वित्तीय अवस्था बुझेर लगानी गर्दा त्यसले राम्रो प्रतिफल दिन्छ।’ उनले छेउछाउका लगानीकर्ताहरुलाई टिप्स दिए । ‘तर मलाई चाहि ब्रोकर हाउस नआई चित्तै बुझ्दैन ।’ पूर्व लगानीकर्तातर्फ हेर्दै उनले भने ।
त्यसपछि हामी अनामनगरस्थित ब्रोकर नम्बर ४६ मा छिर्यौ । त्यहाँ पनि लगानीकर्ताको बाक्लै उपस्थिति देखिन्थ्यो । त्यहाँ वोमी र स्वाबलम्बन फाइनान्सको चर्चा भइरहेको थियो । भिडबाट एक लगानीकर्ता चर्काे स्वरमा पड्कदै थिए–‘वोमीको सेयरमूल्य एक्कासी बढ्नुको खास कारण के हो ?म त आश्चर्यचकित छु।’ खासमा उनको कटाक्ष साना र तुुलनात्मक रुपमा कमजोर मानिएका कम्पनीको सेयरको मूल्य अस्वभाविक ढंगले बढाइएकोतर्फ थियो । ‘यी कम्पनीको मूल्य अहिले जसरी तन्किएको छ, पछि त्यसैगरी खुम्चिन्छ । हेर्दै जानुस् ।’ उनले दाबी गर्दै भने ।
उनीसँगै रहेका अर्का लगानीकर्ताले भने उनको भन्दा फरक मत राखे–‘हेनुुर्स यी कम्पनीको मूल्य बढ्नु भनेको बुलिस बजारको संकेत हो । बुलिस बजारमा तल्लो स्तरका कम्पनीको सेयरको मूल्य माथिल्लो स्तरका कम्पनीभन्दा बढी हुन्छ ।’
लगानीकर्ताबीच भलाकुसारी हँुदै गर्दा नेप्से इन्डेक्स पनि उकालो लाग्दै थियो । १३२९ मा रहेको इन्डेक्स बढ्दै १३३५ पुगेको थियो । प्रायः सबैजसो कम्पनीका सेयर मूल्यमा हरियो पोतिएको थियो । बेला बेलामा केही लगानीकर्ता ठट्यौली पारामा पनि प्रस्तुत भइरहेका थिए । यसै क्रममा एक लगानीकर्ताले त्यहाँ उपस्थित एक महिला लगानीकर्तालाई व्यङ्ग्य गर्दै भन्दै थिए–‘तपाइले घरको सोफामा लगानी गर्नुभन्दा सेयरमा गरेको भए यतिबेलासम्ममा त काठमाण्डौमै तपाईको घर ठडिसक्थ्यो होला ।’ उनको व्यङ्ग्य सुनेर हलमा केहीबेर हाँसोको फोहोरा छुट्यो । ‘घर मात्रै कहाँ हो र पजेरो पनि किन्न सक्ने पैसा कमाइन्छ नि अहिले सेयरमा लगानी गर्दा । तर गाडी हाक्ने भरपर्दाे ड्राइभर पो नपाइएला भन्ने चिन्ता छ त ।’ हाँस्दै अर्का लगानीकर्ता बोले ।
हाँसोको फोहरा नथामिदै भिडबाट एक लगानीकर्ताले ‘नेपाल लाइफइन्स्योरेन्सले ४० प्रतिशत लाभांश दिने हल्ला चल्दैछ के यो साचो हो त ?’ भन्ने प्रश्न तेस्र्याए । ‘त्यसको सेयरमूल्य उकालो लागेको लाग्यै छ, दिन पनि सक्छ ।’ बीचमा अर्का लगानीकर्ताले उत्तर दिने भाषामा बोले ।
त्यसपछि हामी अनामनगरमै रहेको इम्पेरियल सेक्युुरिटिज पुग्यौ । अन्य स्थानमा जस्तै त्यहाँ पनि लगानीकर्ता खचाखच देखिए । भीडबाटै एक लगानीकर्ताले अहिले बढिरहेको सेयर बजारले अझै निरन्तरता पाउने अनुमान लगाए । ‘बजारका मुख्य हस्ती अझै बजारमा छिरि नसकेकाले सेयर बजारले थप उचाइ हासिल गर्छ।’ उनले आफ्नो धारणा राखे । ‘बैंकिङ समूहमा रहेका सबै बैंकका सेयरको मूल्य १ हजार भन्दा माथि पुगे मात्रै सेयर बजार बढेको भन्न मिल्छ।’ उनले आफ्नो तर्क प्रस्तुुत गर्दै अगाडि भने–‘अहिले बैकिङ क्षेत्रमा राष्ट्रबैंकले सुपरिवेक्षण बढाएकाले बैंकहरुको अवस्था पहिले भन्दा सुधारउन्मुख भएकाले बैंकमा लगानी गर्दा राम्रो हुुन्छ।’
यसै सिलसिलामा पुतलीसडकको प्राइमो सेक्युरिटिजमा पुग्दा एक लगानीकर्ताले अहिले बजार बढेको बेला सेयर किनेर दुुईचार दिनमा बेच्दा पनि राम्रै नाफा कमाउन सकिने सुझाए ।‘आफू भने बजार करेक्सन भएपछि लगानी गरौला भनेर बसेँ, तर अरुले भने यो एक हप्ताको अवधिमा दोब्बर जस्तै कमाए ।’ उनले पछुताउँदै भने ।
सो ठाउँमा कतिपय लगानीकर्ताहरुले चाहि गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सर्किट लागेपछि ‘गुराँस फूल्यो’ भन्दै हसाएका थिए ।
यसरी समग्रमा हेर्दा बजारमा लगानीकर्ताको मनोविज्ञान थप बलियो भएको पाइयो । अधिकांश लगानीकर्ता अझै पनि सेयर किन्ने मूडमा देखिए । सेयर बजारमा अहिले गरेको लगानीले राम्रो रिटर्न दिनसक्छ भन्ने कुरामा उनीहरु ढुक्क जस्तै देखिए । तर, यही बीचमा कतिपय लगानीकर्ताले भने सचेत बन्नुपर्ने सुझाव दिएका भेटियो । बजार बढेको बेला धेरै नहौसिने वा धेरै लोभमा नफस्ने तथा घटेको बेला धेरै नतर्सिने र नआत्तिने प्रवृतिले मात्र बजारमा टिकेर लगानी गर्न सकिने लगानीकर्ताहरुको विश्लेषण मननयोग्य देखियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago