काठमाण्डौ । गैरआवासीय नेपाली संघ(एनआरएन)को नेतृत्व चयनमा चरम राजनीतिकरण र ध्रुवीकरण भएको भन्दै यो संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले नवौं विश्व सम्मेलन बहिस्कार गरेका छन् । 

मंगलबारदेखि राजधानीमा सुरु भएको एनआरएनएको नवौं विश्व सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहका बीच उद्घाटन गरिसकेकी छिन् । 

उद्घाटन भइसकेको र सरकारले समेत विशेष प्राथमिकता दिएको नवौं सम्मेलनमा चरम राजनीति भएको भन्दै संस्थापक अध्यक्षले बहिस्कार गरेसँगै नयाँ बहस सुरु भएको छ । 

उपेन्द्र महतोले संघमा चरम राजनीतिक हस्तक्षेप भएको र अधिवेशनमा नेतृत्वका लागि हुने प्रतिस्पर्धा दलहरुबीचको प्रतिस्पर्धाजस्तो हुन थालेपछि आफूले सम्मेलन बहिस्कार गरेको दाबी गरेका छन् । 

महतोले विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजनीतिक पार्टीको भातृ संगठनजस्तो बनाउन खोजिएको समेत दाबी गरे । 

‘‘एनआरएनए मातृभूमिको सेवाको लागि पवित्र उद्देश्य राखेर खोलिएको संस्था हो ।’ महतोले भनेका छन्–‘यसमा कसैले पनि राजनीतिक गन्ध छिराउनुहुँदैन् । यो ८० लाख नेपालीहरुको साझा संस्था हो ।’

संघको स्थापना भएको १६ वर्षको अवधिमा बाहिर प्रवासमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको दाबी गर्दै उनले गर्विलो ईतिहासमा दाग लगाउने गरी नेतृत्वको लागि राजनीतिक धुव्रीकरण र खिचातानी गर्नु गलत भएको बताएका छन् । 

महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए । त्यतिबेला उनले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोट गन्ने काम गर्न नहुने जिकिर गरेका थिए । 

महतो अक्टोबर २००३ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनबाट संस्थापक अध्यक्ष चयन भएका थिए । 

होटल हायातमा सुरु भएको संघको नवौं सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनले आगामी दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ । संघका उपाध्यक्षद्वय कुमार पन्तले वामपन्थी र कुल आचार्यले प्रजातान्त्रिक समूहबाट उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुलाई जिताउन नेकपा र कांग्रेसका प्रभावशाली नेतादेखि भातृ तथा भगिनी संगठनका नेताहरु समेत खटिइरहेका छन् ।