काठमाण्डौ । ‘चौथो ब्रिटिस कप–२०२३ इन्टरकलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजले जितेको छ। 

बालुवाटारस्थित ढुकु फुट्सलमा शुक्रबार सम्पन्न फाइनल खेलमा आईएसएमटी कलेजलाई पेनाल्टीमा पराजित गर्दै थेम्सले उपाधि जितेको हो। विजेता टिम थेम्सले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता टिम आईएसएमटीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ। 

त्यस्तै व्यक्तिगततर्फको अवार्ड पनि थेम्सकै दुई खेलाडीहरुले प्राप्त गरेका छन्। थेम्सका मिलन गोदार थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा मोहम्मद फाहिद उत्कृष्ट गोलकिपर घोषित भए। थापा र फाहिदले जनही १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन्।

कार्यक्रम सफलतापूर्वक सकिएकोमा ब्रिटिस कलेजका चेयरम्यान उपेन्द्रराज शर्माले धन्यवाद तथा बधाइ ज्ञापन गरे। ‘हाम्रा सहकर्मी तथा विद्यार्थीको मेहनतले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। म कार्यक्रमको आयोजना गर्ने विद्यार्थी, स्वयंसेवक, सम्पूर्ण टिम तथा समर्थकलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु’, उनले भने।

प्रतियोगितालाई सभ्य र भब्य बनाउनका लागि कलेजले बिभिन्न संस्थासँग सहकार्य गरेको थियो। यसपटकको शीर्ष प्रायोजक ग्रेस इन्टरनेसनल कन्सलटेन्सी रहेको थियो। त्यस्तै इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स लिमिटेड, ई–कमर्स पार्टनरमा दराज, मोबिलिटी पार्टनरमा पठाओ, हस्पिटालिटी पार्टनरमा होटल कन्ट्री भिला, मेडिकल पार्टनरमा वयोधा हस्पिटल्स, मिडिया पार्टनरमा हाम्रो खेलकूद र फुड पार्टनरमा एमके फुड प्रोडक्ट रहेका थिए भने मेमो गार्डन, रेड मुन, आँखी झ्याल तथा शिव साउन्डले पनि प्रतियोगिताका लागि सहकार्य गरेका थिए।

सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगिताको यस संस्करणमा १६ टिमले सहभागिता जनाएका थिए। कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले सहभागी सम्पूर्ण टिमहरुलाई धन्यवाद ज्ञापन गरे। ‘म विजता थेम्स तथा उपविजेता आईएसएमटीलाई बधाइ दिन चाहन्छु। साथै, सहभागी टिमहरु किङ्ग्स कलेज, थेम्स कलेज, एस बिजनेस स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स, आईआईएमएस, सफ्वेरिका, हेराल्ड केटीएम, सिल्भर माउन्टेन, प्राइम, एपेक्स, नाथम, केसीएम, ब्रिटिस प्रोफेसनल कलेज तथा हाम्रो टिमलाई पनि धन्यवाद दिन चाहान्छु’, उनले भने।

कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा कलेजका ईसीए कोअर्डिनेटर हिमाल कार्की तथा स्पोर्टस् कोअर्डिनेटर कभीचन्द्र राईप्रति पनि कृतज्ञता व्यक्त गर्दै मण्डलले पाँचौँ संस्करण अझै बृहत हुने जानकारी दिए।