Sunil Kc
सुनिल केसी–प्रमुख कार्यकारी अधिकृत(एनएमबी बैंक लिमीटेड)
पहिलो त्रैमासको बित्तीय विवरणमार्फत आफूलाई सिंगो उद्योग संकटउन्मुख हुँदा समेत थप भरोसायोग्य बनाएको एनएमबी बैंकले हालै बैंक अफ दि इयरको प्रतिष्ठित उपाधि पाएको छ । तपाईहरुले नै यो उपाधि पाउनुपर्ने कारण ?
-बैंक अफ दि इयर २०१७ को उपाधि पाउनु पछाडिको मुख्य कारण–हामीले फरक ढंगले बैकिङलाई अगाडि बढाइरहनुु नै हो भन्ने लाग्छ । वाणिज्य बैंक भएको हिसाबले निश्चित रुपमा प्रोफिटमा फोकस बन्नैपर्छ । यसबाहेक हामीले अन्य २ वटा सब्सीडरी कम्पनीको रुपमा एनएमबी क्यापिटल र एनएमबी माइक्रोफाइनान्सलाई पनि अगाडि बढाइरहेका छौ । अरुको भन्दा हाम्रो हिडाई नै फरक छ । आजको मितिको कुरा गर्ने हो भने हाम्रा बैंकका ९३ वटा शाखाहरु छन् । माइक्रोफाइनान्सको मात्र ६५ वटा शाखा छन् । यी दुवै गरेर हामीसँग पूर्वदेखि पश्चिमसम्म, तराईदेखि पहाड र हिमालसम्म १ सय ६० शाखाहरुको विशाल सञ्जाल छ । नेपालको फाइनान्सियल मार्केटमा दुुर्गम क्षेत्रका जनतासँग पुुगेर नेपालको आर्थिक विकासलाई विशेष किसिमले हामीले सपोर्ट गरिरहेका छौ । आर्थिक विकास र आर्थिक समावेशीताका लागि जुन काम गरिरहेका छौ, त्यो अरुले भन्दा केही प्रभावकारी ढंगले हामीले गरिरहेका छौ । अर्को कुरा, हामीले देशको आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा प्रभाव पर्ने काम पनि गरिरहेकै छौ । साना–साना माइक्रो प्रोजेक्टहरुमा समेत हामीले काम गरिरहेका छौ, बायोग्यास प्रोजेक्टहरुमा काम गरिरहेका छौ । हामी अरुभन्दा आक्रामक रुपमा हाइड्रोपावर क्षेत्रमा लागिरहेका छौ । आजको मितिमा हामी ३० भन्दा बढी प्रोजेक्टमा लिड बैंकको रुपमा काम गरिरहेका छौ । हामी पूर्वाधार र पर्यटनसँग सम्बन्धित प्रोजेक्टहरुमा समेत काम गरिरहेका छौ । हामी एसएमईमा सक्रिय रुपमा काम गरिरहेका छौ । माइक्रो एसएमईमा पनि हाम्रो सक्रियता उस्तै छ ।
यी सबै कुराहरुले गर्दा यो वर्ष कमसेकम यो बैंक समग्र रुपमा समाजमा प्रभाव छाड्ने मामलामा राम्रोसँग स्थापित भएको बैंक रहेको भन्ने उहाँहरु(पुरस्कृत गर्ने)को बुुझाई रह्यो । सायद यिनै कारणले हामी यसपटक नेपालको उत्कृष्ट बैंकको रुपमा अगाडि आउन सफल भयौं ।
यो सँगसँगै हामीले गत वर्षदेखि नै ‘ग्लोबल एलायन्स फर बैकिङ अन भ्यालूज’ भन्ने अभियानलाई पनि गम्भीर ढंगले अगाडि बढाइरहेका छौ । त्यसको कारण पनि सायद उहाँहरुले हामीलाई छनौट गर्नुभयो ।
बैंकको कमाण्ड तपाईले सम्हालेपछि महत्वपूर्ण उपलब्धि हासिल गर्नुभयो । आगामी दिनमा यो साखलाई जोगाइराख्ने चुनौतिहरु कसरी स्वीकार गर्नुहुन्छ ?
निश्चित रुपमा कुनै पनि अवार्ड पाएपछि सरोकारवालाहरुको चासो र आशा सधैभन्दा बढी हुनजान्छ । त्यो बढिरहँदा हामीले पनि आफूलाई अझ बढी संवेदनशील, लगनशील बनाउन आवश्यक हुन्छ । अझै जिम्मेवार भएर काम गर्नुपर्ने कुरामा दुुईमत रहेन । हामी त्यो चुनौतिलाई किन पनि स्वीकार गर्न सक्छौ भने हामीसँग राम्रो र उत्कृष्ट जनशक्ति छ । हाम्रा कर्मचारीहरुले अवार्ड पाएको यो बिषयलाई धेरै नै सकारात्मक रुपमा लिनुुभएको छ । यसले बेग्लै किसिमको उर्जा पाइरहेको महसुस गरिरहेका छौ, यसलाई एउटा गर्व र महत्वपूर्ण उपलब्धिको रुपमा लिइरहनुुभएको हुनाले आगामी दिनहरुमा यसको प्रभाव हामीले हाम्रा ग्राहकहरुको सेवामा सिर्जना गर्नुपर्यो । बैकिङ पहुँच वृद्धिका लागि यसैगरी लागिरह्यौ भने यसको साख जोगाउन कठीन हुन्न । आगामी दिनमा योभन्दा पनि अझ राम्रा उपलब्धिहरु हासिल गर्दै हामी अगाडि बढ्न सक्छौ।
पछिल्लो छोटो अवधिमा एनएमबी बैंकको पक्षमा २ वटा उपलब्धि भएको देखियो । बैंक अफ दि इयरको उपाधि हासिल गर्नुभन्दा अगाडि क्रेडिट क्रञ्च लगायतका समस्याले अधिकांश बैंक तथा बित्तीय संस्थाहरुको प्रोफिटमा हिट गरिरहँदा तपाईहरुले भने पहिलो त्रैमासमा कमालको बित्तीय विवरण निकाल्नुुभयो । पहिलो त्रैमाससम्मको यो प्रगति चाहि कसरी संभव भयो ?
-बटमलाइन नेट प्रोफिटलाई हेर्ने हो भने हामी फ्रस्ट क्वार्टरमा नेपालका राम्रो नाफा कमाउने बैंकहरुमा ५ नम्बरभित्र पर्न सफल भयौं । लिक्वीडिटीको इस्यूू वा क्रेडिट क्रञ्च भएको बेला समेत हामी धेरै संवेदनशील भएर अगाडि बढ्यौ । रणनीतिक रुपमा ग्रोथलाई कम गरेर भए पनि खर्चलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने अभियानमा गइरहेका थियौ । योसँगै हामीले ग्यारेण्टी विजिनेशहरुमा समेत विशेष ध्यान दियौं । अहिले थुप्रै नयाँ प्रोजेक्टहरु सुरु भइरहेको छ नेपालमा, त्यस्ता प्रोजेक्टहरुमा समेत हामीले ध्यान दियौं । र, हामी विशेष गरी चाइनिज बिजिनेशमा अरुभन्दा अगाडि छौ, त्यसले गर्दा पनि सायद हामी अगाडि बढ्न सक्यौं । त्यतिबेला समेत लिक्वीडिटी र फण्ड म्यानेजमेन्ट प्रभावकारी ढंगले गर्न सकेका कारण ओभरअल इण्डष्ट्रीभन्दा अलिक राम्रो भएर गएको हो कि !
फ्रस्ट क्वार्टरको धेरै बित्तीय संस्थाको रिपोर्ट हेर्दा लगानीकर्ता अत्तालिएको अवस्था पनि छ । बैंकर एक राम्रो विश्लेषक पनि हो । समग्र उद्योगको कुरा गर्ने हो भने अवस्था के हो ? कतिपयले अवस्था चिन्ताजनक हो पनि भन्छन् नि ? डराउनुपर्ने अवस्थाबाटै नेपालको बैकिङ क्षेत्र गुज्रिरहेको हो र ?
-त्यस्तो धेरै अत्तालिनुपर्ने अवस्था होइन । कस्ट बढिरहँदा र बजारमा लिक्वीडिटीको समस्या हुँदाखेरि एसेट लायबिलीटी म्यानेजमेन्ट राम्रोसँग गर्न सकियो भने त्यति धेरै प्रभाव नपर्ला । तर, कतिपय अवस्थामा त्यो व्यवस्थापन केही कमजोर हुँदा वा असर पर्दा आफ्नो कस्ट बढ्दै जाने र त्यो कस्ट कस्टमरलाई पास गर्न नसक्दा स्प्रेड घट्नुु स्वभाविक हो । यो नियमित प्रक्रिया पनि हो । कुनै पनि साइकलमा एउटा समयमा ब्याजदर बढ्दै गएपछि लोनको डिमाण्ड अटोमेटिक कम हुँदै जान्छ र लिक्वीडिटी बढ्दै जान्छ र लोनको ब्याज सस्तो हुँदै गएपछि अटोमेटिकल्ली लोनको डिमाण्ड बढ्न थाल्छ । यो साइकल चलिरहन्छ । कुनै बेला रेट घट्दै जान्छ, त्यसले डिमाण्ड क्रिएट गर्दै जान्छ । डिमाण्ड क्रिएट भएपछि फण्डको सप्लाईको अवस्था केही कम हुन जान्छ । कुनै पनि इकोनोमीमा यस्तो खालको साइकल चल्नुु स्वभाविक हो । यो साइकलमा आयो भन्दैमा बैकिङ सेक्टर नै धराशायी हुन लाग्यो भन्ने कुरा होइन । समग्र बैंक अहिले पनि ठीकै अवस्थामा छन् र महत्वपूर्ण इण्डिकेटर हेर्ने हो त्यस्तो धेरै चिन्ताजनक अवस्था पनि होइन । तर, अलिकति संयमित भएर ग्रोथलाई म्यानेज गर्दै जानुपर्ने, सस्टेनेवल ग्रोथतिर लाग्नुपर्ने आवश्यकता चाहि हो । धेरै आक्रामक हुँदा गाह्रो हुन्छ । हाम्रो बजार सानो छ, कहिलेकाही अप्ठ्यारो स्थिति आउन पनि सक्छ र यसले गर्दा चाहिने भन्दा बढी रेटहरु माथि जाने संभावना पनि हुन्छ । तर, त्यस्तो आत्तिहाल्नुपर्ने अवस्था छ भन्ने मलाई चाहि लाग्दैन ।
बैंकहरुबीच नाफा कमाउने अस्वस्थ दौड बढी भयो । नाफा फोकस हुँदा जोखिमतर्फ पनि ध्यान दिन छाडे भन्ने आरोप पनि लाग्छ । वाणिज्य बैंकहरुले विकास बैंकका लोन खिचिदिने, सहकारीकै लोन र बचत समेत वाणिज्य बैंकहरुले तान्न थाले । तँछाडमछाड बढी भयो पनि भन्छन् कतिपयले । त्यस्तो भइरहेको हो ?
-तपाईले नेपालको १० वर्षको डेटा हेर्नुभयो भने लोनको ग्रोथ रेट खासै ठूलो छैन । ओभरअल इकोनोमीको ग्रोथमा प्रभाव पर्ने हुँदा त्यो ग्रोथलाई कतिपय अवस्थामा बढी रुपमा हेरियो होला । तर, यी सबै कुराहरु डिमाण्ड कस्तो हुन्छ, ग्राहकले बैंकमै किन आउने भन्ने कुराले समेत निर्धारण गर्छ । बैंकको पनि सेवा बढ्दै गइरहेको छ, पहुँच राम्रो बढ्दै गइरहेको छ । शाखाहरु खुलिरहेका छन् । पहिला हामी शहरी क्षेत्र केन्द्रीत थियौं भने अहिले दुुर्गममा पनि शाखाहरु बिस्तार गरिरहेका छौ । यस्तो भइसकेपछि स्वभाविक रुपमा अरु मार्केटका संस्थाहरुको रेट हाइ हुन्छ, पहिला बाध्य भएर उच्च रेटमा पनि सहकारीमै काम गर्नुपर्ने बाध्यता थियो होला । यस्तो बेलामा बैंकको पहुँच ती क्षेत्रमा पुुगेपछि स्वभाविक रुपमा मानिस सुविधा र सहज अवस्था खोज्दै बैंकतिरै आउँछ । त्यसकारण यसलाई बैंक आक्रामक भएको भन्दा पनि सेवालाई बिस्तार गरेको भन्ने हिसाबले हेर्नुपर्छ होला । बजार खुल्ला छ, बजारले नै धेरै कुरा ड्राइभ गर्छ । जसले राम्रो सेवा र प्रोडक्ट दिन्छ, ग्राहक त्यहाँ जाने हो । पहिला बैंकले जे प्रोडक्ट ल्याउथ्यो, त्यो कस्टमरलाई दिन्थ्यो । अहिले चाहि कस्टमरलाई के चाहिएको छ, त्यो बैंकले दिनसक्छ, अनि कस्टमर आउने हो । कस्टमर पनि धेरै डिमाण्डेड भएका छन् । धेरै कुरा बुझिसकेका छन् ।
अर्को कुरा, हामीले शाखा बिस्तार गरिरहेका छौ, यसले हामी ग्राहकको नजिक पुगिरहेका छौ। यसलाई अस्वस्थ होडबाजी भएको रुपमा बुुझ्नुुहुुन्न ।
शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । स्थिर सरकार बन्ने आशा छ । राजनीतिको संक्रमणकाल अन्त भइसक्यो । आर्थिक समृद्धिको युुग सुरु गर्छौ भनेर जित्ने दलहरुले भनिरहँदा एउटा बैंकरको हिसाबले भविष्यप्रति कत्तिको आशावादी हुनुहुन्छ ? अबको बैकिङ कस्तो बन्ला ?
अहिलेको स्थितिमा जुन खालको राजनीतिक घटनाक्रममा विकास भयो र आउँदा दिनमा हेर्दा आशावादी हुनुपर्ने धेरै ठाउँ छन् । जुन खालको म्याण्डेड अहिले आयो, यसो हेर्दा आर्थिक समृद्धि र स्थायीत्वका लागि आएको जस्तो देखिन्छ । श्रीलंकाकै उदाहरण हेरौं न, आन्तरिक द्वन्द्व र सिभिल वार भोगेको त्यो देशले अहिले निकै राम्रो ग्रोथ गर्न थालेको छ । हामीले गर्न नसक्ने भन्ने होइन । यस्तै उदाहरणहरु हेर्ने र राजनीति स्थिर हुने हो भने धेरै आशा गर्ने ठाउँहरु छन् ।
पहिलोपटक हामी नेपालमा संघीय संरचनामा काम गरिरहेका छौ । विकेन्द्रीकरणको कुरा उठिरहेको छ । विगत ४–५ वर्षको अवस्था हेर्दा सरकारको तर्फबाट हुने विकास खर्चहरु गर्न नसकिरहेको अवस्था देखिन्थ्यो, यसले गर्दा बैकिङलाई चाहिने आर्थिक गतिविधि हुन सकेको थिएन । अब विकेन्द्रीकरणको युुग समेत सुरु होला । विकासको खर्चहरुलाई अगाडि बढाउने कुरामा राम्रो संरचना बनेको छ । भौतिक पूर्वाधारको क्षेत्रमा धेरै काम हुने आशा गरिरहेका छौै, यो हुने बित्तिकै आर्थिक गतिविधि र विकास अगाडि बढ्छ । हामीले हेर्दा अबको ५–१० वर्ष ६–७ प्रतिशतको हाराहारीमा आर्थिक विकास हुन्छ भन्ने लाग्छ । यस्तो हुनसक्यो भने बैकिङ क्षेत्रका लागि निकै नै ठूलो अवसर सिर्जना हुनेछ। सँगसँगै अझै पनि धेरै स्पष्टता बाँकी छ, त्यसकारण चुनौतिहरु पनि छन् । कसरी विजिनेशलाई अगाडि बढाउने, करको इस्यूूहरु के–के हुने जस्ता कुरामा स्पष्टता आउन बाँकी नै छ । संरचना बन्न बाँकी नै छ । समग्रतामा मलाई सोध्नुुहुन्छ भने चनाखोपूर्वक हामी आशावादी छौ । चुनौतिहरु आफ्नो ठाउँमा छन् । सबै कुरा मिलेर जाने हो भने हाम्रै छिमेकीले झै आर्थिक वृद्धि हासिल गर्दै अगाडि बढ्ने हो भने त्यसले बैकिङ क्षेत्रका लागि धेरै ठूलो अवसर हुनेछ । समृद्धिसँगै पूर्वाधार विकास र इनर्जी सेक्टरमा पनि लगानी बढ्नेछ । यसले धेरै कुरालाई सहज बनाउँछ । नयाँ खालको उद्योग आउनलाई पनि सहयोग गर्छ । प्रतिस्पर्धी वातावरण समेत सिर्जना गर्छ ।
प्रदेशहरु गठन भइसकेपछि तिनीहरुबीच पनि आफ्नै किसिमको प्रतिस्पर्धा होला । यसले गर्दा पनि नयाँ–नयाँ खालको अवसरहरु सिर्जना हुनेछन् । नयाँ किसिमले उहाँहरु अगाडि बढिदिनुुभयो भने हामीलाई काम गर्न सहज हुन्छ । भविष्यको अवसरहरुलाई हेरेर अहिले हामीले कतिपय शाखाहरु बिजिनेश नभए पनि खोलिरहेका छौ । बाटाघाटा बन्दै जाने हो र संचार तथा विद्युतीकरण हुँदै जाने हो भने निश्चित रुपमा धेरै अवसरहरुको ढोका खुल्नेछन् ।
देश संघीय संरचनालाई कार्यान्वयन गर्दै अगाडि बढिसक्यो । संघीय संरचना अनुसार तपाईको बैंकको सेवा तथा विजिनेशको मोडललाई रुपान्तरण गर्ने कुनै योजना छ ? प्रदेशहरुलाई फोकस गरेर हेडक्वार्टर स्थापना गर्नेदेखि लिएर यस्तै नवीनतम कुनै योजना छन् ? संघीय संरचना अनुसार आफूलाई कसरी ढालिरहनुुभएको छ ?
-हामी पनि यसलाई हेरिरहेका छौ । विशेष रुपमा बुुझेर हामी अगाडि बढ्छौ । भोलि अझै पनि स्रोतहरुको बाँडफाँड, उहाँ(सरकारहरु)हरुले गर्नुपर्ने खर्चको स्रोत कसरी आउने भन्ने कुरा अझै पनि स्पष्ट हुन बाँकी नै छ । हामी अहिलेको अवस्थामा पनि सातैवटा राज्यमा हाम्रो प्रतिनिधित्व छ । आउने दिनमा बन्ने राज्य सरकारहरु कस्तो खालको बन्छन्, उनीहरुको प्राथमिकता के–के हुन्छन्, आर्थिक गतिविधिमा कस्तो खालको योगदान हुन्छ, ती सबै कुरा हेरेर हामी एउटा विजिनेश मोडल बनाएर अगाडि बढ्छौ । हामी सेन्ट्रलाइज मोडलमा काम गरिरहेका छौ । तपाईले अन्तराष्ट्रिय क्षेत्रमा हेर्नुभयो भने पनि मल्टिनेशनल बैंकहरु सेन्ट्रलाइज गरेर अगाडि बढेर धेरै प्रगति भएको छ । हामीले यसका लागि आन्तरिक गृहकार्य थालिसकेका छौ ।
डिजिटाइजेसनको लहर चलेको छ । यो क्षेत्रमा चाहि तपाईको बैंक कसरी अगाडि बढ्छ ?
-ग्लोबल सेक्टरको बैकिङ उद्योगलाई हेर्यौ भने विगत ५–७ वर्षमा डिजिटाइजेसनमा निकै ठूला प्रगतिहरु भएका छन् । छिमेकी भारतकै बैकिङ क्षेत्रलाई हेर्दा पनि क्रमैसँग बैंकहरु डिजीटाइजेसनको माध्यमबाट आफ्नो प्रभाव र उपस्थिति बढाउन सक्रिय देखिन्छन् । नेपालजस्तो मुलुकमा त्यो आवश्यक पनि छ । मोवाइल फोनको उपलब्धता राम्रो भएको देशको रुपमा नेपाल स्थापित छ । यहीकारण डिजिटाइजेसनका लागि समेत हामी राम्रो ढंगले अगाडि बढिरहेका छौ । भोलि गएर कस्टमरलाई चाहिएको कुरा दिने र सहज तथा सरल रुपमा उपलब्ध गराउने काम गर्छौ । कनेक्टिभिटीको इस्यूू भएको ठाउँमा समेत फिजिकल रुपमै सेवा पुर्याउनुुपर्नेछ । हामी आगामी दिनमा परम्परावादी बैकिङ र आधुनिक बैकिङलाई नै मिक्सअप गर्दै कस्टमरको आवश्यकता अनुसार अगाडि बढ्ने छौ ।
डिजिटल कारोबारसँग सम्बन्धित कुनै नयाँ प्रोडक्टहरु छन्/आउँदैछन् ?
-मोवाइल बैकिङ, इन्टरनेट बैकिङ, एसएमएस बैकिङ जस्ता काम त सबैले नै गरेका छन् । तर, अरु खालका प्रोडक्टमा हामी सोचिरहेका छौ । अहिले यसलाई भनिहाल्दा चाँडो होला, हामी केही न केही नयाँ काम गरिरहेकै छौ ।
यो आर्थिक वर्षको अन्तसम्ममा एनएमबी बैंकलाई लगानीकर्ता, सेयरधनी र ग्राहकले वाणिज्य बैंकको भीडमा कुन स्थानमा देख्न पाउलान् ?
-हामी कन्सिसटेन्ट रुपमा अगाडि गइरहेका बैंकमध्येको एक हौ । ८–९ वर्षको ग्राफलाई हेर्ने हो भने क्रमैसँग हामी अगाडि बढिरहेका छौ । हाम्रो आगामी अगाडि बढाई पनि यस्तै हुन्छ । धेरैवटा शाखाहरु भएका कारणले विजिनेश ग्रोथ राम्रोसँग भइरहेको छ । त्यसकारण यो आर्थिक वर्षको अन्तसम्म लगानीकर्ता, सेयरधनी र ग्राहकले हामीलाई नेपालको टप बैंकमध्येमै देख्न पाउनुहुनेछ । मुख्य आधार, चाहि: यहाँ भएका ४–५ वटा ज्वाइन्ट भेञ्चर बैंकहरु छन् । धेरै बैंकहरुको डिसिजन बाहिरबाट हुने गर्छ, तर हामी ज्वाइन्ट भेञ्चर भएर पनि निर्णय चाहि लोकल्ली गर्नसक्ने बैंकमध्येमा पर्छौ । हामीले थुप्रै किसिमका सहयोगका कार्यक्रमहरु, थुप्रै किसिमको प्रोजेक्टहरु, विशेष गरी एसएमईमा, रिटेल बैकिङमा पनि काम गरिरहेका छौ । हाम्रो बल भनेकै विश्वभर काम गरिरहनुुभएको ज्वाइन्ट भेञ्चर पार्टनर हो । उहाँहरुसँग मिलेर जतिसक्दो चाँडो विश्व बजारको राम्रो र नेपाल अनुकुल कुरा लिएर आउँदैछौ । यो हिसाबले हामी अरुभन्दा फरक ढंगले अगाडि बढ्न सक्छौ । हामी क्रमैसँग अगाडि आइरहेका छौ । हाम्रो ब्राण्डप्रतिको विश्वास बिस्तारै बढिरहेको छ । यिनीहरुले फरक किसिमले काम गरिरहेका छन् भन्ने ग्राहकहरुले बुुझ्न थालेका छन् । हामी ग्राहकसँग नजिक भएर काम गरिरहेका छौ । सेयरहोल्डरहरुले पनि आउने वर्षमा यो बैंकलाई अझ परिस्कृत, अझै राम्रो लेभलमा पुुग्ने देखिन्छ । फ्रस्ट क्वार्टरमा हामीले जस्तो प्रगति गर्यौ, त्यही रुपमा हामी यो वर्षको नाफा गर्छौ ।
अहिले नेपालका बैंकहरुका सीइओले पूँजीवृद्धिसँगै नाफा बढाउन निकै ठूलो दवाब झेलिरहेका छन् भनिन्छ नि ?
-त्यसलाई दवाबको रुपमा हेर्नु हुँदैन । बैंकको सरोकारवालामा स्टाफ, कस्टमर, रेगुलेटर, सेयरहोल्डर र सोसाइटी हुन्छन् । यी सरोकारवालाको समेत आफ्ना कुरा हुन्छन् । उहाँहरुले इन्भेष्टमेन्ट गर्नुभएको छ । उहाँहरुले गरेको लगानीका लागि उचित, बजारको संभावना अनुसार उचित रिटर्न दिनुु हाम्रो पनि काम हो । त्यसकारण त्यसलाई दवाब भन्नुुभएन । नयाँ क्षेत्र खोज्नुपर्यो, केही न केही नयाँ काम गरेर उहाँहरुलाई राम्रो रिटर्न दिनुुपर्यो । तर, योसँगै सेयरहोल्डरको साइडबाट पनि रिजनेवल आशा हुनुपर्यो र हामीले पनि रिजनेबल आशालाई मिट गर्न पहिलाभन्दा फरक हिसाबले काम गर्नुपर्यो । राम्रो खालको जनशक्ति आफैंभित्र तयार हुनुपर्यो, अरुबाट केही सिक्ने हो भने पनि सिकेर आफूलाई अब्बल बनाउने कोशिश हुनुपर्छ ।
बढेको पूँजी अनुसारको विजिनेश एकैपटक नआउने, तर नाफा चाहि बढाउनैपर्ने बाध्यताले धेरैलाई सकसमा पारेको देखिन्छ । नाफा बढाउनैका लागि गलत प्राक्टिस पनि सीइओहरुले गर्न थाले भनिन्छ नि त ?
-अरु बैंकहरुको बिषयमा कुरा नगरौ । हाम्रो केसमा हामी स्पष्ट छौ । राइट टाइममा पूँजीवृद्धि भएको छ । ६–७ प्रतिशतको ग्रोथ इकोनोमीमा हुने हो भने अहिले भन्दा ग्रोथ गर्ने ठाउँ पाइहालिन्छ । आफूले पनि आफूलाई सक्षम बनाउँदै लैजानुुपर्छ । पहिला भन्दा फरक ढंगले सोच्नुुपर्ने अवस्था पनि आउला ।
अन्तमा, तपाईहरुसँग सहायक कम्पनीको रुपमा एनएमबी क्यापिटल पनि छ । कतिपयले ऋणपत्र जारी गर्ने, खुल्लामुखी म्युचुुअल फण्डको पनि सुरुवात गर्ने प्रयास थालेका छन् । तपाईहरुको पनि यस्ता कुनै प्रोडक्ट छन्/आउँदैछन् ?
-नियामकले तोकेको परिधिभित्र रहेर केही नयाँ काम गर्नुपर्छ भन्ने सोचिरहेका छौ । एनएमबी क्यापिटल नेपालको मर्चेन्ट बैकिङको पायनियर कम्पनी हो । म्युुचुुअल फण्ड ल्याउनेमा पनि हामी पहिला ३ वटा कम्पनीभित्रै पर्छौ । हामीले २ वटा स्किम राम्रोसँग चलाइरहेका छौ । अहिले प्रतिस्पर्धा बढेको छ । त्यसका लागि केही नयाँ सोंच बनाएका छौ । नियामकले स्वीकृत गरेपछि त्यस्ता योजना घोषणा गर्दै जान्छौ । गर्नसक्ने कुराहरु हामी गर्दै जान्छौ । इन्भेष्टमेन्ट बैकिङको क्षेत्र भनेको धेरै नै गर्नसकिने संभावना भएको क्षेत्र हो। यसलाई धेरै अगाडि बढाउने योजना छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago