काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट बैंकलाई लाभांशको बिषयमा गलत सूचना किन दिएको भनी स्पष्टीकरण सोधेको छ । नेप्सेले ४५ मिनेटको अन्तरमा फरक–फरक सूचना किन पठाएको भन्दै बुधबार नै स्पष्टीकरण सोधेको हो । 

नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार बजार खुलेलगत्तै आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांशको वितरणको निर्णय भएको भन्दै सूचना प्रवाह गरेको थियो । तर, त्यसको ४५ मिनेटभित्रै अर्को सूचना पठाउँदै २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको वितरणको चाहि निर्णय भएको भन्दै ‘टाइप मिस्टेक’ले गल्ती हुन गएको दाबी गरेको थियो । 

नेप्सेले पठाएको तत्काल जवाफ पेश गर्ने भन्ने स्पष्टीकरणपत्रको जवाफ दिंदै इन्भेष्टमेन्ट बैंकले निकै लामो व्याख्या गरेर पत्र पठाएको छ । तर, आशय भने उसले टाइप मिस्टेकका कारण यस्तो भएको जिकिरलाई दोहोर्याएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । 

उनका अनुसार इन्भेष्टमेन्ट बैंकले पठाएको स्पष्टीकरण, त्यसअघि पठाएको पहिलो पत्र, त्यसको ४५ मिनेटमा लाभांश प्रतिशत सच्याएर पठाइएको अर्को पत्र लगायतको बिषयमा बुुधबार नै धितोपत्र बोर्डलाई ब्रिफिङ गरिसकेको छ । 

‘इन्भेष्टमेन्ट बैंकको टाइप मिस्टेक प्रकरणमा हामीले आवश्यक व्रिफिङ गरिसकेका छौ ।’ प्रवक्ता पराजुलीले बिजशालासँग भने–‘हामीले घटनाको सबै छानबिन भएपछि आफैंले कारबाही गर्न सक्दैनौ, बोर्डमा कारबाही सिफारिससम्म मात्र गर्न सक्छौ ।’ 

उनले नेप्से आफैंलाई कारबाही गर्ने अधिकार नभएको र यो प्रकरणलाई टुंगोमा पुर्याउन धितोपत्र बोर्डले छानिबन थालिसकेको भन्दै नेप्से छानबिनको निश्कर्षको प्रतिक्षामा रहेको जानकारी दिए । 

प्रवक्ता पराजुलीका अनुसार गलत सूचना वा ढिलो सूचना दिने सूचिकृत कम्पनीहरुलाई धितोपत्र बोर्डले नगद जरीवाना वा जेल सजाय समेतको सजाय दिनसक्ने कानूनी व्यवस्था छ । ‘बोर्ड अर्धन्यायिक निकाय पनि हो ।’ उनले थपे–‘बोर्डले तोकेको सजाय कार्यान्वयनमा हामी सहयोग गर्नेछौ ।’ 

उनले इन्भेष्टमेन्ट बैंकको ‘टाइप मिस्टेक’ प्रकरणमा  कतिपय लगानीकर्ताले नेप्सेको भूमिकाप्रति प्रश्न उठाएकोमा असन्तोष व्यक्त गरे । ‘हामीले खरीदकर्ता र बिक्रीकर्ता दुवैको हित हेर्नुपर्छ ।’ उनले भने–‘कुनै पनि जिम्मेवार कम्पनीको लेटरहेडमा आएको सूचनालाई हामीले विश्वास गर्नुपर्छ । कम्पनीले पठाएको सूचना समयमै हामीले प्रकाशित गरेनौ भने सूचना होल्ड गरेर राख्यो, चलखेल गर्यो भन्नेजस्ता आरोप आउँछन् ।’  

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले इन्भेष्टमेन्ट बैंकलाई बुधबारको मितिले ३ दिनभित्र प्रष्टीकरण पेश गर्न पत्र पठाइसकिएको दोहोर्याउँदै त्यहाँबाट आएको जवाफको आधारमा के कारबाही गर्ने भन्ने बिषय टुंगो लाग्ने बताए ।