काठमाण्डौ। पछिल्लो समय धितोपत्रको दोस्रो बजार गुल्जार भइरहेको छ। नेप्से सूचक २४५० हाराहारी पुगेको छ भने दैनिक कारोबार रकमसमेत झन्डै १० अर्ब रुपैयाँ हुन थालेको छ।

छोटो समयमा बजारमा आएको उछालले लगानीकर्तामा उच्च मनोबल बनाइरहेको देखिन्छ। यसै सेरोफेरोमा हामीले बजारका केही चिरपरिचित लगानीकर्तालाई बजारको पछिल्लो अवस्थालाई कसरी नियाल्नु भइरहेको छ भन्ने जिज्ञासा राखेका छौँ।

धेरै वर्षपछि बजारले बल्ल मुभमेन्ट लिइरहेको व्यवसायी तथा ठूला लगानीकर्ता राजेन्द्र खेतान बताउँछन्। ‘न्यून ब्याजदर, सकारात्मक सरकारी दृष्टिकोण र करका विषय समाधान भइसकेकाले हाल सेयर बजारमैत्री वातावरण रहेको खेतानको ठहर छ। बजारको दायरा बढेसँगै सूचक बढ्नु स्वभाविक रहेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा भन्दा नेपालको सेयर बजारमा स्टकको भ्यालू भने निकै कम रहेको जिकिर गरेका उनले बजार बब्बल नभएको दाबीसमेत गरे। अझै ३ महिनासम्म ब्याजदर नबढ्ने भएकाले धेरै आशावादी रहेको उनको बुझाइ छ। कम्पनीको प्राफिटाबिलिटीका आधारमा पछिल्लो समयमा लगानी गर्ने अभ्यास भएकाले कम्पनीको रिटर्न र प्रोफिटाबिलिटी राम्रो भएका कम्पनीहरुको सेयरमूल्य अझै माथि जाने उनले तर्क गरे। तरलता र ब्याजदरले साथ दिएका हुनाले बजार कुनै पनि हरहालतमा माथि नै जाने उनको भनाइ छ।

एफएनसीसीआईअन्तर्गत पुँजीबजार फोरमका सभापति तथा भेटान लगानीकर्ता अम्बिकाप्रसाद पौडेल दोस्रो त्रैमासमा बैंकका वित्तीय विवरण निराशाजनक आएकाले बजारमा सानो करेक्सन देखिएको बताउँछन्। बजार छोटो समयमै निकै माथि पुगेकाले करेक्सन हुनु र बैंकको रिपोर्टको संयोगले समेत बजारमा झिनो करेक्सन देखिएका जिकिर गरेका पौडेल बजार अन्ततोगत्वा उकालो गति नै समाउने भएकाले सकारात्मक हुनुपर्ने धारणा राख्छन्। बजारको करेक्सन स्वभाविक र सुन्दर पक्ष भएको दाबी गर्दै उनले लगानीकर्ता आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। कारोबार रकमले बलियो सपोर्ट, तरलता र अन्य सूचकहरु सकारात्मक भएकाले बजार अझै माथि नै जाने उनको ठहर छ।

नेपाल पुँजीबजार फोरमकी सदस्य तथा सक्रिय महिला लगानीकर्ता सिर्जना सुवेदी हिजोआज महिला वृद्ध लगानीकर्ताभन्दा पनि युवा वर्गले सेयर बजार कब्जा गरिरहेको बताउँछिन्। पछिल्लो समयमा युवाहरुको अभूतपूर्व प्रवेशले सेयर बजार गुल्जार भइरहेको उनको बुझाइ छ। ब्याजदर नबढेसम्म बजारको जोखिम नभएको जिकिर गरेकी उनको छोटो समयमा राम्रो रिटर्नका लागि सेयर बजार नै उपयुक्त भएकाले युवालगायत सम्पूर्ण क्षेत्रको लगानीको केन्द्र सेयर बजार बन्दै गइरहेको दाबीसमेत छ। बेरोजगारीलाई समेत सेयर बजार निकै चाखलाग्दो भइरहेको अनि प्राथमिक बजार हुँदै दोस्रो बजार प्रवेश गर्ने लहड बाक्लिदै गइरहेको सुवेदी सुनाउँछिन्।

पछिल्लो तथ्यांकानुसार धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ता ४ लाख ९० हजार ४४१ रहेका छन् भने अनलाइन कारोबारी ३ लाख ५४ जना छन्।