– अनन्त्य सुन्दर

काठमाण्डौ । पछिल्लो समय नेपाली अर्थतन्त्रमा लगानीयोग्य रकम (तरलता) को संकट चुलिएको छ। कोभिडको असर, आयात बढ्नु, सरकारको विकास खर्च नहुनु गायत अन्य विभिन्न कारणले तरलतामा प्रत्यक्ष असर गरेको देखिन्छ।

तरलता संकटको प्रत्यक्ष असर सेयर बजारमा पनि भएको देखिन्छ। सेयर बजारका साथै वित्तीय क्षेत्रका विज्ञहरु अहिले सेयर बजार ओरालो लाग्नुको मुख्य कारण कारण तरलता संकट नै रहेको बताउँछन्। 

अहिले तरलता संकटले ब्याजदर पनि बढ्दो छ। तरलता अभावले बजार घट्दा लगानीकर्ता त मारमा पर्ने नै भए  यसको प्रत्यक्ष प्रभाव ब्रोकरहरुमा पनि परेको देखिन्छ।

‘बजारमा सेयर प्लेजमा राखेर कारोबार गर्ने लगानीकर्ताहरुले बैंकबाट कर्जा नपाउँदा सेटलमेन्टमा समस्या आइरहेको छ’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘बैंकमा स्टेटमेन्ट पठाउँदा बैंकमा निक्षेप नै छैन भन्ने जबाफ आउँछ। अहिले अधिकांश ब्रोकरहरुलाई सेटलमेन्ट गर्न नै गाह्रो भइरहेको छ।’

‘हाम्रो पैसाले मात्र बजारमा कति थेग्ने ?’, एक ब्रोकर सञ्चालक प्रश्न गर्दै भन्छन्, ‘तरलता संकटले गर्दा बैंकले रोक्का राखेको सेयरको कर्जा नै दिएका छैनन्। क्लाइन्टको सेयर खातामा गइसकेको छ। बैंकबाट कर्जा अनुमोदन नभएकाले हाम्रो पुँजीले मात्र सेटलमेन्ट गर्ने अवस्था पनि छैन।’ 

कतिपय कर्जाहरु नवीकरण पनि नभएको ती ब्रोकर सञ्चालकले बताए। 

अर्का एक ब्रोकर सञ्चालक भन्छन्, ‘अहिले तरलता संकटले गर्दा कुनै पनि बैंकले कर्जा वितरण गरेको छैन। बैंकिङ प्रणालीमा तरलता संकट भएको बेला क्लाइन्टले सेयर धितो राखेर पैसा तिर्छुभन्दा ब्रोकरहरुले पनि पुनर्विचार गर्नुपर्छ।’ 

ब्रोकरहरुले पनि कारोबार हुन्छ भन्दैमा लगानीकर्ताको कुरा सुनेर हौसिएर कारोबार गर्न बन्द गर्नुपर्छ।

नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवाली बैंकहरुमा अहिले सबै किसिमको कर्जा सबै ठप्प रहेको बताउँछन्। ‘सीडी रेसियो अहिले ९० प्रतिशतभन्दा माथि छ। बैंकहरुको सीमाभन्दा १५ अर्ब बढी कर्जा वितरण भइसकेकाले अहिले बैंकहरुले कुनै पनि किसिमको कर्जा दिने अवस्था छैन।’

‘डाटा नै हेर्दा पनि विगत एक महिनामा लोनको ग्रोथ जिरो छ’, ज्ञवाली भन्छन्, ‘तरलता संकटले गर्दा अहिले बैंकले सेयर धितो कर्जामात्र नभएर घर, जग्गा, अटो लोनलगायत कुनै पनि किसिमको कर्जा कमिट गर्ने अवस्था छैन।’ 

‘बैंकहरुमा निक्षेप नै छैन। कर्जा कसरी दिने ?’, ज्ञवालीले प्रश्न गरे।