– अनन्त्य सुन्दर
काठमाण्डौ । महिलाहरुको महान् चाड हरितालिका तीज नजिकिँदैछ। तीजमा महिलाहरु एक ठाउँमा भेला भएर नाचगान गरी दर खाने र मनोरञ्जन गर्ने चलन छ। नेपालमा पनि विगत केही दिनदेखि नै तीजको रौनक सुरु भइसकेको छ।
तीजमा महिलाहरुले गरगहना, साडीलगायतमा धेरै रकम खर्च गर्ने गरेका छन्। पछिल्लो वर्षहरुमा तीज खर्चिलो बन्दै गएको छ।
तीजको उपलक्ष्यमा लगानीको नाममा कतिपय महिलाले सुनचाँदीका गरगहना खरिद गर्ने गरेका छन्।
गरगहना र सेयरमा लगानी गर्दा भविष्यमा कुनमा राम्रो प्रतिफल पाइन्छ ? भनेर हामीले नेपाली सेयर बजारका केही अग्रज लगानीकर्तामाझ आफ्नो जिज्ञासा राखेका छौँ।
सेयर बजारका अग्रज लगानीकर्ता सरोज भट्टराई पैसा ऋण लिएर वा सापटी लिएर गरगहना किन्नुभन्दा थोरै पुँजी भए पनि सेयरमा लगानी गर्दा उपयुक्त हुने बताउँछन्। ‘गरगहना अचल सम्पत्तिजस्तो भएकाले सम्पत्ति देखिन सक्छ तर सजिलै किनबेच गर्न मिल्दैन’, भट्टराई भन्छन्, ‘त्यसका साथै गरगहनाको लगानी महँगो छ। एक तोला सुन किन्न नै १ लाख रुपैयाँको हाराहारीमा पैसा चाहिन्छ। त्यसैले सबैको क्षमताले गरगहनामा लगानी गर्न भ्याउँदैन। तर, सेयर बजारमा थोरै पैसा पनि लगानी गर्न सकिन्छ। त्यसका साथै गरगहनाको तुलनामा थोरै पैसा बचत गरेर सेयरमा नै लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ।’
अहिले पनि आईपीओमा मात्र १ हजार रुपैयाँ नै लगानी गर्दा ३०–३५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको भट्टराई बताउँछन्। ‘त्यसैले ऋण लिएर अरुको देखासिकी गरेर गरगहना किन्नुको सट्टा सेयरमा लगानी गर्दा भविष्यमा सेयरबाट भएको आम्दानीले नै गरगहना किन्न सकिन्छ’, उनले भने।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल गरगहनाका साथै सेयर दुवैमा रेसियो मिलाएर लगानी गर्दा उपयुक्त हुने बताउँछिन्। ‘गरगहना पनि सम्पत्ति नै भएकाले साह्रोगाह्रो पर्दा धेरै नै सहयोग हुन्छ। त्यसैले गरगहनामा पनि आफ्नो क्षमताअनुरुप लगानी गर्दा उपयुक्त हुन्छ’, पोख्रेल भन्छिन्, ‘अहिले सेयर बजार पनि धेरै नै घटेकाले तीजको अवसरमा सेयर बजारका साथै गरगहनामा पनि आफ्नो लगानी गर्ने क्षमताअनुरुप रेसियो मिलाएर लगानी गर्दा उपयुक्त हुन्छ।’
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की अहिले सेयर बजार धेरै नै घटेकाले गरगहनाको तुलनामा सेयर बजारमा लगानी गर्दा उपयुक्त हुने बताउँछन्। ‘अहिले अधिकांश कम्पनीको सेयरमूल्य आधाले नै घटेको छ’, कार्की भन्छन्, ‘त्यसैले गरगहनाको तुलनामा वित्तीय अवस्था राम्रो भएको साथै राम्रो लाभांश दिने कम्पनीमा लगानी गर्दा राम्रो प्रतिफल लिन सकिन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago