काठमाण्डौ । एशियाली विकास बैंकको बाउन्नौ बोर्डस अफ गभर्नरको वार्षिक बैठकमा सहभागी हुने शिलशिलामा अर्थ मन्त्री डा.युवराज खतिवडा र बैंकका अध्यक्ष ताकेहिको नकाओको बीचमा शुक्रबार फिजीको नादीमा द्विपक्षीय बैठक भएको छ । 

सो बैठकमा अर्थमन्त्री डा. खतिवडाले नेपालको वर्तमान समग्र आर्थिक स्थायीत्वको अवस्था चित्रण गर्दै मुलुकले यस बर्ष पनि उच्च आर्थिक बृद्धि हासिल गर्न लागेको र उच्च आर्थिक बृद्धिको पथमा जानका लागि पूँजीगत सामाग्रीहरुको आयात अत्याबश्यक भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सही दिशामा अगाडि बढिरहेको बताए । 

बैंकका अध्यक्षले नेपालले राजनीतिक तहमा गर्नुपर्ने कार्यहरु पूरा गरिसकेको र आर्थिक तथा सामाजिक विकासमा परिसूचकहरुमा पनि राम्रो प्रगति गर्दै अगाडि बढिरहेको विषय उल्लेख गर्दै अध्यक्ष नकाओले भूकम्पपछिको पुर्ननिर्माणका लागि भएको अन्तराष्ट्रिय सम्मेलनमा आफू सहभागी भएको स्मरण गरेका थिए । 

प्रत्युत्तरमा अर्थमन्त्री डा. खतिवडाले अन्य सहयोगको अतिरिक्त भूकम्पपछिको पुर्ननिर्माणका लागि बैंकले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

खतिवडाले हालै सम्पन्न लगानी सम्मेलनलाई सफल बनाउन वैंकले उपाध्यक्षको तहबाट सहभागिता जनाउनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै यसका लागि समेत बैंकलाई धन्यवाद दिएका थिए।

खतिवडाले सन् २०३० सम्म दिगो बिकासको लक्ष्य हासिल गर्नका लागि मुलुकले गर्नुपर्ने थप लगानीका लागि सार्वजनिक तथा निजी दुवै क्षेत्रको लगानी जोड्दा पनि कुल गार्हस्थ उत्पादनको करिब १३ प्रतिशत जति लगानी नपुग हुने उल्लेख गरेका थिए । 

साथै, सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, स्वच्छ वातावरण, सामाजिक संरक्षण लगायतका नागरिकका आधारभूत मौलिक हकहरुको परिपूर्ति गर्न सरकारले लगानीको प्रतिबद्दता जनाएकोले यसका लागि पनि लगानी बढाउनु पर्ने भएको उल्लेख गर्दै बैंकलाई थप सहयोग गरिदिन आग्रह गरेका थिए ।

नेपाल दुई वर्षभित्र अति कम विकसित राष्ट्रको अवस्थाबाट स्तरोन्नति हुने सम्भावना भएको सन्दर्भ उल्लेख गर्दै अर्थ मन्त्री डा. खतिवडाले केही वर्ष त्यसको दिगोपना हेर्नु पर्ने र त्यतिञ्जेलसम्म बैंकले हाल प्रदान गरिरहेको सहुलियतपूर्ण कर्जाको सुविधा निरन्तर रहनुपर्नेमा जोड दिएका थिए । 

यसको प्रत्युत्तरमा अध्यक्ष नकाओले त्यसबेला संक्रमणको समय हुने भएकोले अवश्य पनि यस पक्षलाई मध्यनजरमा राखिने धारणा राख्दै नेपालको समावेशी तथा दिगो विकासमा सहयोग गर्न बैंक तत्पर रहेको प्रतिबद्धता जनाएका थिए ।

वर्तमान सरकारले पूर्व पश्चिम राजमार्गको विस्तार समेतका केही ठूला आयोजनाहरुलाई तत्काल अगाडि बढाउन चाहेकोले यसका लागि समेत सहयोग आवश्यक रहेको बताएका थिए ।

एशियाली विकास बैंकका उच्चपदस्थ अधिकारीहरुसंग भएको छुट्टै द्विपक्षीय बैठकमा अर्थ मन्त्री डा. खतिवडाले दीर्घकालीन लगानीका लागिस्रोत जुटाउन लामो समयदेखि छलफलमा थाँती रहेको स्थानीय मुद्रामा बोन्ड जारी गर्ने विषय आवश्यक भएको, तर यसको मोडालिटी र जारी गर्ने समयको उपयुक्तताको विषयमा अध्ययन गरी अगाडि बढ्ने विषयमा आफू  सकारात्मक रहेको धारणा राखेका उनको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।