– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । हाल सेयर बजार शिथिल बनेको छ। दैनिक कारोबार २ अर्ब रुपैयाँको हाराहारीमा पनि हुन सकिरहेको छैन।

शिथिल बनेको बजारलाई ऊर्जा प्रदान गर्न सबै ब्रोकरबाट मार्जिन कारोबार सुरु गर्नुपर्ने लगानीकर्ताले आवाज उठाउँदै आएका छन्। तर, लामो समयदेखि लगानीकर्ताले माग गरेको मार्जिन कारोबार भने अन्यौलमै छ। केही ब्रोकरले नेप्सेले बनाएको कार्यविधिका आधारमा छिटफुट रुपमा मार्जिन कारोबारको सेवा दिएका छन्। 

राष्ट्र बैंकले पनि मौद्रिक नीति ल्याउनुपहिले ब्रोकरसँग मार्जिन कारोबारका लागि सुझाव मागेको थियो। तर, मार्जिन कारोबार हुन सकेको छैन। 

ब्रोकरेज सेवामा लामो अनुभव बटुलेका एवं नेपाल स्टक हाउस (स्टक ब्रोकर नं. १४)का सञ्चालक ईश्वरीप्रसाद रिमालले मार्जिन कारोबार आउन सक्ने नयाँ विकल्प दिएका छन्। रिमालले अहिले मार्जिन कारोबार हुन नसक्नुको मुख्य कारण आवश्यक ऐनको अभाव नै रहेको बताए। ‘यसका लागि नेपाल धितोपत्र बोर्डले आवश्यक ऐन बनाइदिनुपर्छ’, उनले भने। 

रिमालले १–२ वटा ब्रोकरले नेप्सेको कार्यविधिका आधारमा मार्जिन कारोबार गरिरहे पनि त्यो पर्याप्त नरहेको बताए। ‘किनकि त्यसमा रिकभरीको प्रस्ट नियम छैन’, उनले भने, ‘हामीले ग्राहक हेरेर मार्जिन कारोबार गर्न सक्थ्यौँ तर ऐनको अभावले त्यो सम्भव छैन। त्यसैले सबै ब्रोकरमा तत्काल मार्जिन कारोबार सञ्चालनमा आउन नसकेको हो।’

धितोपत्र बोर्डले पहल गरेमा मार्जिन कारोबारका लागि केही विकल्प आउन सक्ने रिमालको भनाइ छ। ‘एउटा उपाय भनेको नेपाल राष्ट्र बैंकको बाफियामै संशोधन गरेर जान पनि सकिन्छ’, उनले भने, ‘जसमा लोन रिकभरीको व्यवस्था भएमा ब्रोकर नै ग्यारेन्टी बसेर बैंकसँगको समन्वयमा राम्रा ग्राहकसँग मार्जिन कारोबार गर्न सकिन्छ। यसका लागि बैंकले पनि २४ घन्टाको जोखिम भने लिनुपर्छ। त्यसको जिम्मा ब्रोकरले लिन सक्छ। कारोबार राफसाफ पनि टी प्लस जिरोमै गर्न सकिन्छ।’

त्यसपछि सेयर खातामा गइसकेपछि सेयर रोक्का राख्न सकिने रिमालको भनाइ छ। ‘यसका लागि भने अहिलेको नेप्सेको कार्यविधि पर्याप्त छैन, त्यो केवल समझदारीमात्रै हो’, उनले भने। 

मार्जिन कारोबार सञ्चालनमा ल्याउने अर्को उपाय भनेको आवश्यक ऐन बनाएर ल्याउनु नै रहेको रिमालले बताए। ‘यसका लागि धितोपत्र बोर्डले पहिले कार्यविधि बनाएर अर्थ मन्त्रालयमा पेस गर्नुपर्यो। त्यसपछि अर्थ मन्त्रालयले मन्त्रिपरिषद पेस गर्नुपर्छ। अनि मन्त्रिपरिषदबाट पास भएर कानुनी रुप दिन संसदमा जानुपर्छ’, उनले भने, ‘यो त्यति सहज छैन। त्यसैले मार्जिन कारोबार तत्काल सञ्चालनमा आउने सम्भावना देखिँदैन।’

अहिले ब्रोकरहरुसँग पैसा नरहेको रिमाल बताउँछन्। ‘हामीसँग पैसा छैन। पैसा त बैंकबाटै ल्याउने हो’, उनले भने, ‘अहिले भएको व्यवस्थामा केवाईसी पनि बैंकले हेर्छ। यसलाई केन्द्रीय बैंकले सहज गरिदिँदा बैंकहरुले धितोमात्रै  हेरे पुग्छ।’ 

त्यसैले राष्ट्र बैंकले केही प्रक्रिया सहज गरिदिए मार्जिन कारोबार सहज हुने रिमालको तर्क छ। यसमा ब्रोकरको २० करोड रुपैयाँको धितो बैंकले राख्न सक्ने पनि रिमालले बताए।