काठमाण्डौ । नेपाल टेलिकमले ‘नमस्ते पे’को क्यूआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्यूआरमार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको छ।
नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमका बीच आज सो सेवाको शुभारम्भ गरिएको हो। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाण्डौ, बागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यससम्बन्धी सम्झौतापत्र आदानप्रदान गरे।
कार्यक्रममा निर्देशक प्रधानले क्यूआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरिन्। उनले भनिन्, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ। प्रयोगकर्ताहरूले अब नमस्ते पेको क्यूआर प्रयोग गरेर बिल तिर्न सक्नुहुनेछ। अब प्रयोगकर्ताले नगद झिक्न बैंकमा जानु पर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ।’
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौँ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ। यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्नेछ। आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ।’
कार्यक्रममा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका निवर्तमान सीईओ कृष्णप्रसाद भण्डारी, सूचना प्रणाली सहयोगी निर्देशनालयका प्रबन्धक शालिकराम सुवेदी र दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख दिनेश चन्द्र पन्थीले सेवा शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै सेवाका वारेमा आवश्यक जानकारी प्रदान गरेका थिए।
हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पेको क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिनेछ। यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरुमा समेत विस्तार गरिनेछ।
कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गरेबापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्थासमेत गरिएको छ।
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19