– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । पछिल्लो समय सेयर बजारले गति लिन नसकेपछि अनेक आशंका उब्जिन थालेका छन्। 

केही लगानीकर्ता बजार बढ्न नसक्नुमा नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई दोष लगाउँछन्। केहीले सुनकाण्डलाई पनि जोडेर हेर्ने गरेका छन्। केहीले ठूला लागानीकर्ताले सानालाई त्रसित पारेर सेयर एक्युमुलेसन गरेकोले बजार घटेको आरोप लगाउँछन्। केही लगानीकर्ताले भने पछिल्लो समय दुई ब्रोकर संगठनबीचको द्वन्द्वका कारण  बजारले गति लिन नसकेको तर्क गर्ने गरेका छन्। 

अहिले नयाँ ब्रोकर भनेका पनि पुरानै लगानीकर्ता अथवा कतिपय पुरानै ब्रोकरबाट टुक्रेर गएका लगानीकर्ता भनेर पनि चिनिन्छन्। नयाँ र पुराना ब्रोकरबीचको द्वन्द्वले बजार घटेको भन्नु गलत रहेको दुवै ब्रोकर संगठनका नेतृत्वहरु बताउँछन्। 

न्यु ब्रोकर एसोसियसनका संयोजक सागर ढकाल अहिले बजार घट्नुमा राष्ट्र बैंकको नीति नै मुख्य कारण रहेको बताउँछन्। ‘हामी दुई संगठनबीच कुनै समस्या छैन’, उनले भने, ‘हामीले कुनै समयमा सामूहिक रुपमा लड्न संस्था खडा गरेका थियौँ। अब यसको पनि औचित्य सकिँदै गएको छ। हामी पुराना र नयाँ एक हुन तयार छौँ। मिल्ने विषयमा कुनै समस्या छैन। सबैले आ–आफ्ना व्यापार गर्ने हो। यदि आमलगानीकर्तामा कुनै आशंका छ भने प्रस्ट भए हुन्छ, हामी एक हुन तयार छौँ। हाम्रै कारणले बजार प्रभावित हुँदैन।’

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा पनि दुई ब्रोकर संगठतबीचको द्वन्द्वले बजार घट्यो भन्नु गलत रहेको बताउँछन्। ‘यो कपोकल्पित हो’, उनले भने।

आफू र सागर ढकालबीच कुराकानी भइरहेको पनि सापकोटाले बताए। ‘हामीले लगानीकर्तालाई सेवा दिने हो’, उनले भने, ‘ब्रोकरका दुई संगठनबीच कुनै समस्या थियो भने त्यो प्रक्रियाको विषयलाई लिएर थियो। प्रश्न उठ्दा–उठ्दै पनि नयाँ ब्रोकर आई नै हाल्यो।’ 

नयाँ ब्रोकर एसोसियसन दर्ता भएको कुरा आफूले पनि सुनेको सापकोटाले बताए। ‘मैले नयाँ र पुराना सबै साथीलाई एक हुनुपर्छ भनेको पनि छु। हामीबीच एकता हुनैपर्छ’, उनले भने, ‘नयाँ र पुरानो ब्रोकरको एउटै संगठन हुनैपर्छ र हुन्छ।’