काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न दिने तयारी सरकारले गरिरहेको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघले आइताबर आयोजना गरेको अन्तरक्रियामा मन्त्री बडुले आयल निगमलाई सुधार्न र निगमको एकाधिकार तोड्न पनि निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न दिने गरी गृहकार्य भइरहेको बताएका हुन्। 

पेट्रोेलियम पदार्थको आपूर्तिमा दीर्घकालीन रुपमा निजी क्षेत्रको सहभागिताबारे मन्त्रालयले काम गरिरहेको बडुले बताए। ‘निगमको एकाधिकार तोड्न र प्रतिस्पर्धा बढाउन तथा दीर्घकालीन समाधानका लागि हामीले अहिले त्यसतर्फ काम गरिरहेका छौँ’, उनले भने।