-भक्तराज रसाइली 
काठमाण्डौं । नेपालको सेयर बजारमा केही महिनादेखि निराशा छाएको छ । तर, निराशाहरुको भीडमा आशाको दीप जलाउँदै बेला बेला लगानीकर्तालाई आशावादी बनाउने एक पात्र हुन् देवप्रकाश गुप्ता । 

सिराहा जिल्लाको लहान स्थायी घर भएका नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गुप्ता नेपाली सेयर बजारवृत्तमा धेरै प्रशंसा पाउने एक पात्र समेत हुन् । 

आन्तरिक रुपमा दह्रो काम गरिसकेपछि परिणाममा विश्वास गर्ने गुप्ता ०७२ सालदेखि सिडिएससीको नेतृत्व सम्हालिरहेका छन् ।  उनलाई तत्कालीन अध्यक्ष सीताराम थपलियाको पालामा सिडिएससीको नेतृत्वको रुपमा ल्याइएको थियो । 

भारतबाट  कम्प्युटर विज्ञानमा इञ्जिनियरिङ्ग  गरेका गुप्ताले वित्तशास्त्रमा एमबीए र एमफिल गरेका छन् । हाल काठमाण्डौं विश्वविद्यालयबाट पिएचडी पनि गरिरहेका छन् ।

२०७२ साल माघ १ गतेबाट डिम्याट अनिवार्य गर्दै सिडिएससीले हालसम्म सिआस्वा प्रणाली, बैंक र लगानीकर्ताहरुबीच मेरो शेयरमार्फत लिंक गराउन समेत सफल बनेको छ । ३० सेकेण्डभित्र आइपीओ औपचारिक रुपमा २०७४ साल फागुनबाट अनलाइन आवेदन गर्न मिल्ने बनाएर लगानीकर्तालाई प्राथमिक बजारप्रति भरोसा र आशा जगाउने कामको सूत्रधार हुन् गुप्ता । 

पहिला आइपीओमा लगानी गरेर लामो समय झञ्झट बेहोर्नुपर्ने बाध्यतालाई हाल ३७ घण्टाभित्र लगानीकर्ताका खातामा सेयर आउने प्रणाली समेत उनैको नेतृत्वमा विकास भएको हो । १५ दिनभित्र कारोबार सुरु गर्न सकिने सहजता भएसँगै यसबाट लगानीकर्ताहरुले चाँडै प्रतिफल पनि पाउन सकेका छन् । 

सिडिएससीकै मेरो शेयर पोर्टलबाट सेयर खरिदबिक्री विवरण, सम्पत्तिको सुरक्षा, पारदर्शिता वृद्धि, आइपीओ बाँडफाँडमा समेत पारदर्शिता कायम राख्न सफल भएको सिइओ गुप्ताले भने–‘लगानी र समय छोटिएकाले इस्यू मेनेजर र लगानीकर्ता दुवैको लागत घटेको छ । आइपीओ आवेदन ७७ जिल्लाबाट ११६० शाखामार्फत देशभर पहुँच वृद्धि भएसँगै दोस्रो बजारमा मेरो सेयरको पोर्टलमा रहेका इडीआइएस अप्सनबाट एक क्लिकमा सेयर हस्तान्तरण गर्न सजिलो भएको छ ।’

केन्द्रीकृत साझा केवाइसी लागू गर्ने योजनामा रहेका सिइओ गुप्ताले १४ लाख डाटालाई केन्द्रीकृत गर्न करिब २ महिना लाग्ने दाबी गरेका छन् । निकट भविष्यमा सेबोनबाट स्वीकृत गराई इभोटिङ्ग चालू आ.व.भित्रै लञ्च गर्न खटिरहेको गुप्ता बताउँछन् । यो व्यवस्था आएपछि सूचिकृत कम्पनीका सेयरधनीले विद्युतीय माध्यमबाट भोट गरी आफ्ना संचालक चुन्न पाउनेछन् । 

गत महिनाको तथ्यांकानुसार हालसम्म जारी गरिएका सेयरमध्ये ७५ प्रतिशत सेयर डिम्याट भइसकेको दाबी गरेका सिडिएससीका गुप्ताले हालसम्म बाँकी सेयर डिम्याट नहुनुका कारणमा बिदेशी संस्थापक सेयर, कारोबार नहुने सेयर, अर्काको नाममा हालेका सेयर आवेदन लगायत रहेको जिकिर गरे । 

कतिपय सेयरहरु शतप्रतिशत हस्ताक्षर नमिलेर भेरिफाइड नभएका, २ प्रतिशत पेण्डिङ्गमा रहेका उल्लेख गर्दै गुप्ताले भने–‘डिम्याट हुन स्वयम् उपस्थित भई सक्कल नागरिकता डीपीलाई पेश गर्नुपर्ने भएकाले पनि हुन सक्छ ।’

हाल ११ सय ६० वटा डीपीका शाखाबाट सक्कली नागरिकता र फोटो भएमा सहज रुपमा कागजी प्रमाणपत्र डिम्याट गर्न सकिने व्यवस्था गरेको सिडिएससीले ७२ घण्टाभित्र सेयरधनीको खातामा सेयर जम्मा गर्ने व्यवस्था मिलाएको छ । 

हाल १२ प्रतिशत डिम्याटधारीहरुले बैंक खाता अपडेट नगरेका हुनाले नगद लाभांश सहज रुपमा सेयरधनीकै बैंक खातामा आउने सुविधा लिन गुप्ताले आग्रह समेत गरे ।

अनलाइन ट्रेडिङ्गमा सिडिएससीको तयारी कस्तो छ भन्ने जिज्ञासामा गुप्ता भन्छन्–‘पूर्ण रुपमा तयारी अवस्थामा छौं । टीप्लस ३ बाट टी प्लस २मा कारोबार राफसाफ गर्न पनि तयार नै रहेका छौं ।’

सिडिएससीको मेरो शेयर पोर्टलबाट मात्रै दिनानुदिन लगानीकर्ताहरुले सहज सुविधा पाएसँगै ७५ प्रतिशत हाराहारी आईपीओ आवेदन आइरहेको र सेयर कारोबार राफसाफमा डीआइएसको सट्टा ईडीआइएस करिब ७० प्रतिशतले प्रयोग गर्ने गरेको गुप्ताको दाबी छ । 

केही समयअघि अफिसियल कामले भारत गएका गुप्ता इन्टरनेसनल सेक्युरिटी एण्ड डेफिनेसन नम्बर एसोसिएसन अफ नेसनल नम्बरिङ्ग एजेन्सीले आयोजना गरेको ३ दिने एजीएममा सक्रिय सहभागी जनाए,  जुन आइओएससीओ प्रमाणित कम्पनी हो । यो संस्थाले सेयर वा स्क्रिपको ८ डिजिटको युनिक कोड दिने गर्दछ । सिडिएससी मात्र एउटा पहिलो संस्था हो, जुन अन्तर्राष्ट्रिय संस्थाको पूर्ण स्थायी सदस्य बन्न सफल भएको छ । 

अन्तर्राष्ट्रियस्तरको संस्था बनाउन लागिपरेका सिइओ गुप्तालाई कार्यकालको अन्ततिर हुनुहुन्छ, दोस्रो कार्यकालका लागि केही सोच्नु भएको छ कि भन्ने जिज्ञासा राख्दा धितोपत्र बोर्ड र सरकारले मूल्यांकन गर्नुपर्ने विषय भएकाले हेदैं जाउँ भन्ने जवाफ दिए ।

सन् २०१९ सेप्टेम्बरमा सम्भवत पूँजी बजारकै एसिया प्यासिफिकमै सिडिएसीको एजीएम नेपालमा गर्न लागिएको गुप्ताले खुलासा गरे । उनका अनुसार ४७ मुलुकबाट २ सय जनाको उपस्थिति रहने छ ।