काठमाण्डौ । नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीहरुले औँल्याएका छन्।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले बुधबार राजधानीमा आयोजना गरेको विदेशी मुद्रा आर्जनमा निर्यात उद्योगहरुको भूमिका विषयक नाफिज संवादमा सहभागी निजी क्षेत्र र पूर्वसरकारी अधिकारीहरुले स्वदेशी उत्पादन प्रवर्द्धन र निर्यातका लागि ठोस नीतिगत व्यवस्था अभाव रहेको औँल्याएका हुन्।
कार्यपत्र प्रस्तुत गर्दै नेपाल तयारी पोसाक उद्योग संघका महासचिव अशोककुमार अग्रवालले नेपालमा उत्पादन र निर्यातका लागि ठोस नीति नै नभएको औँल्याए। नीतिगत अभाव र सरकारको दूरदृष्टि नपुग्दा तयारी पोसाक उद्योग धरापमा परेको दृष्टान्त उनले राखे।
दुई दशकपहिले नेपालबाट ४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात हुने गरेकोमा पछिल्ला वर्ष यो वार्षिक ४ देखि ५ करोड अमेरिकी डलरमा सीमित भएको अग्रवालले बताए। ‘नीतिगत सुधार नगर्ने र स्वदेशी उद्योगलाई प्रवर्दन नगर्ने हो भने हामी अझै खस्कन्छौँ’, उनले भने।
कार्यपत्र प्रस्तुत गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रवि शैंजूले नेपालमा पेट्रोलियम आयात, फलाम तथा खाद्यान्न अयातले व्यापार घाटाको ग्राफ उचालेको बताए। स्वदेशी विकल्पलाई उपयोग गर्न ढिला नहुने उल्लेख उनले भने, ‘पछिल्लो ५ वर्ष नेपालको निर्यात–आयात अनुपात दोहोरो अंककै फरकमै छ। गत आर्थिक वर्षमा यो अनुपात १ः११ पुगेको थियो। चालु आर्थिक वर्षमा पनि अवस्था यस्तै हुने आँकलन गर्न सकिन्छ।’
नेपालले निर्यात प्रवर्द्धन गर्न वाणिज्य नीति परिवर्तनको प्रक्रियामा लागिएको र त्यसपछि सकारात्मक र प्रवर्द्धनकारी हुने अपेक्षा शैंजूको छ। ‘कुल निर्यातको १८ प्रतिशत त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन्छ तर त्यही निर्यातका झमेला धेरै छन्’, उनले भने, ‘निर्यात प्रवर्द्धन गर्ने भन्छौँ तर एउटा कार्गो प्लेन हामीकहाँ छैन।’
निर्यात उद्यमी पवन गोल्यानले टेक्सटाइल उद्योग मूल्य शृंखला अभिवृद्धिमा अत्यधिक योगदान रहेपनि यस प्रवर्द्धनमा राज्यको ध्यान नजाँदा यस्ता उद्यमी बीचमै हराउने गरेको उल्लेख गरे। नेपालमा अवैध आयातले गर्दा पनि स्वदेशी उत्पादन कमजोर बनेको उनको भनाइ थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19