– रेखा चन्द

काठमाण्डौ । पूर्वबैंकर एवं विश्लेषक अनलराज भट्टराईले नेपालको अवस्था श्रीलंकाको जस्तो नहुने बताएका छन्। 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा छलफल गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा वित्त विश्लेषक भट्टराईले यस्तो धारणा राखेका हुन्। ‘नेपालको अवस्था श्रीलंकाको जस्तो हुने सम्भावना छैन’, उनले भने, ‘तर हामीले आयातलाई निरुत्साहित गर्नुपर्छ। त्यसका लागि अनावश्यक सामानको आयात रोक्नुपर्छ।’

पेट्रोलियम पदार्थको आयात बढ्दै गए पनि अन्य सामानको आयात कम हुँदै गएको भट्टराईले बताए। 

एनआरएन डेभलपमेन्ट फन्डका सीईओसमेत रहेका भट्टराईले रेमिट्यान्स बढ्ने सम्भावना रहेको पनि बताए। ‘रेमिट्यान्स भित्रिने क्रम चैत र जेठमा एउटै लेभलमा छ, वैशाखमा मात्रै कम थियो’, उनले भने, ‘रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ।’

मुद्रास्फीति बढ्ने जाने सम्भावना रहेको भन्दै भट्टराईले यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले उचित नीति अवलम्बन गर्नुपर्ने बताए। 

बैंकहरुले पछिल्लो ६ महिनामा ६० अर्बभन्दा कम कर्जा प्रवाह गरेको उल्लेख गर्दै भट्टराईले राष्ट्र बैंकले वर्किङ क्यापिटल फाइनान्सिङ मार्जिन लेन्डिङलाई रिभ्यु गर्नुपर्ने धारणा राखे। उनले सीडी रेसियोलाई विस्तार रिप्लेस गर्न पनि राष्ट्र बैंकलाई सुझाव दिए।

भट्टराईले क्रेडिट फ्लोलाई घटाउनुपर्ने सुझाव पनि दिएका छन्। ‘सीआरआर र एसएलआर रेसियो बढाउनुपर्छ’, उनले भने, ‘विदेशी मुद्राको सञ्चिती कम्तीमा ९ महिनासम्मलाई पुग्ने हुनुपर्छ।’

राष्ट्र बैंकले जीडीपी ग्रोथको लक्ष्यलाई पूरा गर्नेमा भट्टराईले विश्वास व्यक्त गरे। ‘हामीले ‘भी’ सेपको आकार लिइसकेका छौँ’, उनले भने।

भट्टराई बैंकहरुको सुपरभिजनमा कमजोरी रहेको उल्लेख गर्दै सुधार गर्न आवश्यक रहेको बताए। ‘साना तथा मझौला उद्योगलाई फाइनान्सिङ हुनुपर्छ’, उनले भने।