काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन्। ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो। जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युत थपियो। जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो’, उनले भने, ‘ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ।’
ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको मन्त्री महतले बताए। ‘निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत निर्यात गर्न थालेको छ’, उनले भने, ‘यो हाम्रा लागि खुसीको खबर हो। यसले ऊर्जामा लगानीकर्तालाई आकर्षितसमेत गरेको छ।’
मन्त्री महतले भने, नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान पनि गरे। ‘लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ। सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार छ’, उनले भने, ‘लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौँ। निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो भएको छ। नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो।’
सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउने पनि अर्थमन्त्री महतले बताए। ‘विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार हो। बंगलादेशसँग विद्युत व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ’, उनले भने, ‘विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन्।’
विद्युत उत्पादनमा लगानी गर्न इच्छुक अन्य धेरै कम्पनी पाइपलाइनमा रहेको महतले बताए। ‘उनीहरु मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु’, उनले भने।
विद्युतीय खपतमा पनि हामी त्यत्तिकै हुन जरुरी रहेको मन्त्री महतले बताए। ‘यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ’, उनले भने, ‘घरयासी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत खपत बढाउन सकिन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago