काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार र घरजग्गा काराबारले लय समातेको बताएका छन् ।
 

मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै छ । जग्गा कारोबारले पनि केही गति समातेको छ । बैंकहरुले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ ।’ 

महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका संधै खुला रहेको बताए । 

महतले भने, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाउँ । नेपालमै उद्योग व्यवसायको माहोल बढाउँ रोजगारी यही सिर्जना गरौं ।’

उनले भने, ‘विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सिप लिएर आएका छन्, उनीहरु आधुनिक कृषिकर्म गर्दैछन् । यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ । यसले कृषि क्षेत्र आधुनिकीकरण हुन्छ र उत्पादन बढ्छ । उद्योग व्यावसायीले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्दछु ।’

अर्थतन्त्र समस्यामा रहेको र अझै पनि केही समस्या रहेको स्विकार्दै महतले आगामी दिनमा सकारात्मक संकेतहरु देखिने र आर्थिक वृद्धि हासिल हुने बताए । 

 ‘हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने बजेटमार्फत् घोषणा गरेका थियौं, अहिले ५.३८ मा मूल्यवृद्धि झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको छ’, भने । 

 ‘सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै छ । जग्गा कारोबारले पनि केही गति समातेको छ । बैंकहरुले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ, आउँदा दिनमा अझ वृद्धि हुनसक्छ । पर्यटक आगमन अहिलेसम्मकै उच्च हो ।’

मन्त्री महतले भने, ‘त्यसैगरी रेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भयो । यो पूँजी प्रवाह हाम्रै अर्थतन्त्रमा भएको छ । त्यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा दुई मत छैन । हाम्रो सञ्चितिले एक वर्ष पुग्छ । सबै सूचक सकरात्मक भएको अवस्थामा लक्ष्य गरेको आर्थिक वृद्धिमा हामी पुग्न सक्छौं ।’

अहिलेको आवश्यकता भनेको आत्मविश्वास रहेको छ, यो देशमा भविष्य छैन भन्ने नकारात्मक प्रचारले आत्मविश्वास कम भएको छ’, महतले भने,‘अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक भएको अवस्थामा उद्योग व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलाई सकारात्मक बहसको थालनी गर्न अनुरोध गर्छु।’ 

आउँदो बजेटमा अझ सुधार गरेर नेपाली उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिइने मन्त्री महतको भनाइ छ ।