काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले श्रम कूटनीतिलाई देशले प्राथमिकता दिनुपर्ने बताएका छन्। 

नेपाल–यूएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आयोजना गरेको कार्यक्रममा राजदूत क्षेत्रीले खाडी र अन्य श्रम गन्तव्य मुलुकसँगको द्विपक्षीय सम्बन्धमा श्रम कूटनीति अपरिहार्य रहेको बताएका हुन्। उनले यूएईमा ठूलो संख्यामा नेपाली आप्रवासी कामदार रहेकाले नेपालले जनता–जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्नसक्ने बताए। 

चेम्बरले राजदूत क्षेत्रीसहित नेपालका लागि यूएईका नवनियुक्त राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शम्सीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा उनले नेपालबाट हुने कपडा, गलैंचा र हस्तकलाका सामानले यूएईमा राम्रो बजार पाउन सक्ने र त्यहाँको बजारमा नेपाली सामानको प्रवद्र्धन गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए। खाडी मुलुकहरु नेपालका लागि पर्यटन र लगानीको राम्रो स्रोत हुन सक्ने उनको भनाइ छ। 

सरकारी अनुमान अनुसार करिब ५ लाख नेपाली रोजगारीका लागि यूएईमा रहेका छन् र यहाँबाट २८ करोड ५० लाख अमेरिकी डलर रेमिट्यान्स आउने गरेको छ। ‘नेपालले उच्च मूल्यका वस्तुहरु यूएईको बजारमा निर्यात गरी पर्यटकलाई आकर्षित गर्ने रणनीति बनाउनुपर्छ’, क्षेत्रीले भने, ‘यूएईबाट पर्यटकको संख्या बढाउनुपर्ने आवश्यकता छ किनकी गत वर्ष करिब ६०० पर्यटकमात्र नेपाल आएका थिए।’

कार्यक्रममा नेपालका लागि यूएईका राजदूत अल शम्सीले दुवै देशले सहकार्यबाट लाभान्वित हुने गरी भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता एमिराटीका लागि राम्रो आकर्षण हुनसक्छ।

सोही अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यूएईको समृद्धिमा नेपाली कामदारको भूमिका अपार रहे पनि त्यहाँ समस्यामा परेको बताए। नेपालले व्यावसायिक सुरक्षा उपायहरु लागू गर्नुपर्ने र त्यसका लागि यूएई सरकारलाई अनुरोध गर्नुपर्नेमा उनले जोड दिए। 

सचिव भण्डारीले यूएईको आवश्यकता हेरेर नेपालमा रोजगार अभिमुखीकरण केन्द्रहरु बढाउनुपर्ने धारणा राखे। गत वर्ष नेपालबाट करिब ७ लाख नेपाली औपचारिक रुपमा वैदेशिक रोजगारीमा गए पनि नेपालको अभिमुखीकरण केन्द्रले वर्षमा करिब १ लाख व्यक्तिलाई मात्रै तालिम दिन सकेको उनको भनाइ छ।

सचिव भण्डारीले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापी रुपमा उठाउन नेपाल सरकारलाई कोपलाई प्लेटफर्मको रुपमा प्रयोग गर्न पनि सुझाव दिए। अबको कोप सम्मेलन यूएईको दुबईमा हुँदैछ। जसमा ३३ हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्। यो नेपालका लागि पनि राम्रो अवसर भएको सचिव भण्डारीको भनाइ छ। ‘नवनियुक्त राजदूतलाई आगामी कोपमा नेपालको एजेन्डा राख्न र श्रम आप्रवासनलाई मर्यादित र सुरक्षित बनाउन थप प्रयास गर्न आग्रह गर्दछु’, उनले भने।

नेपाल यूएई चेम्बरका अध्यक्ष पवनकुमार अग्रवालले नेपाली व्यवसायीलाई यूएईका व्यवसायीसँग सम्बन्ध स्थापित गर्न वा त्यहाँ व्यवसाय विस्तार गर्न वा त्यसविपरीत गर्नका लागि द्विराष्ट्रिय चेम्बरले आफ्नो प्रयास जारी राखेको बताए। उनले नेपालमा लगानी आकर्षित गर्न र त्यहाँ नेपाली उत्पादनको प्रवर्द्धन गर्न यूएईमा वकालत अभियान चलाउन राजदूत क्षेत्रीलाई आग्रह गरे। ‘हामी खाडी देशसँग छिट्टै व्यापार आदानप्रदान गर्न इच्छुक छौँ’, उनले भने, ‘हामी नेपालमा सीप विकास केन्द्र विकास गर्न यूएईको सहयोग चाहन्छौं ताकि रोजगारीका लागि पलायन भएका युवाहरुलाई विभिन्न सीपहरुमा तालिम दिन सकियोस्।’