काठमाण्डौ। नेपाल टेलिकमको एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको छ।
नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्जसमेत गर्न सकिने छ। त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन्। यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिनेछ।
फाइबर टु द होम अर्थात एफटीटीएच प्रयोगकर्ताले एपमार्फत एफटीटीएचको सीपीई रिस्टार्ट गर्न, वाईफाईको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महशुल तिर्न सक्नेछन्। नमस्ते पे सेवा पहिलोपटक एपमा समावेश गरिएको छ।
नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु अपडेट युजर केवाईसीमार्फत नवीकरण गर्न सकिनेछ। त्यसैगरी डिलरहरुले एमपोससमेत लगइन गर्न सकिनेछ।
नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई समय–समयमा परिमार्जन गरी सेवाग्राहीहरुका लागि उपयोगी विशेषताहरु थप गर्दै नयाँ रुपमा प्रस्तुत गर्ने गरेको छ। एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाहरुका बारेमा जानकारी प्राप्त गर्नुका साथै अन्य विभिन्न सुविधा उपभोग गर्न सकिन्छ।
त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्थाबारेमा सहज रुपमा जानकारी प्राप्त गर्न सकिन्छ।
यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहारका रुपमा पठाउन सकिन्छ। त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिसको प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरुमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरुको बिल तिर्न पनि सकिन्छ।
कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ। उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महशुल दरबारे जानकारी लिन पनि सकिन्छ।
यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ।
यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न सुरुआतमा गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नुपर्दछ। नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिस्टर गरेपछि एप चलाउन सकिन्छ। पहिलोपटक एप डाउनलोड गर्दा ५०० एमबी डाटासमेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा कम्पनीले उपलब्ध गराइरहेको छ।
यो एपमा लगइन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ। पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेषगरी त्यस्ता प्याकेज खरिद कार्य यो एपबाट सहज भएको छ।
हाल नेपाल टेलिकम एप प्रयोग गर्ने सेवाग्राहीहरुको संख्या बढ्दै गइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago