►भक्तराज रसाइली
काठमाण्डौ । अर्थतन्त्रको ब्यारोमिटर मानिने सेयर बजार इण्डेक्स अब निकट भविष्यमै बुलिस ट्रेण्डमा दौडने सेयर बजारका प्राविधिक विश्लेषक तथा प्रशिक्षक धनकुमार राईले दाबी गरेका छन् । उनले नेप्से परिसूचक बढेर २१०० को विन्दूमा पुग्ने दाबी समेत गर्न भ्याएका छन् ।
‘७ वर्षको अन्तरालको अध्ययन गर्दा अहिले प्राइमरी ट्रेण्ड अपमै रहेको छ। डाओ थेउरी अनुसार बजार बढेर घटिसकेपछि बढ्नका लागि प्रिइन्साइडर अवस्था बन्छ, त्यो अवस्थामा खरीदकर्ता एकजुट हुन र उनीहरुले बजारलाई नेतृत्व दिन समय लाग्छ, त्यो समय हो अहिले । यतिबेला ट्रेण्ड परिवर्तन गर्ने समय भएको र अन्य सूचक पनि सुखद रहेकोले अब बजार बुलिस ट्रेण्डमा कुद्छ ।’ मुम्बईबाट फाइनान्सियल टेक्नोलोजीको स्पेशल कोर्ष पूरा गरी स्वदेश फर्किएका राईले बिजशालासँग भने–‘बजार घटिरहेको छ, तर घटिरहनका लागि भोल्यूम बढ्नुपर्छ । बजारको टे«ण्ड डाउन छ भन्नका लागि भोल्यूम बढ्नै पर्छ । तर, बजार अहिले त्यो बेसिक पोइन्ट विपरीत छ, त्यस आधारले पनि बढ्छ, ढुक्क भए हुन्छ ।’ अहिलेको बजारले क्रेताको नेतृत्व खोजेको उल्लेख गर्दै त्यो समय धेरै टाढा नरहेको उनको भनाई छ ।
उनले इलियट वेब थेउरीलाई अगाडि सार्दै भनेका छन्–‘ पाँच तीनको संगम हुन्छ मार्केटको साइकल बन्नलाई । अहिले साइकलको अन्तिम अवस्था भएकोले बजारले प्राइमरी ट्रेण्डमै फर्किनुपर्छ । यस आधारले पनि बजार बढ्छ ।’
कुराकानीको क्रममा उनले प्राविधिक विश्लेषणको अपरिहार्यतामाथि पनि जोड दिए । उनले प्राविधिक विश्लेषणले बजार बढाउने नभई लगानीकर्तालाई बजारको स्तर बताउने, प्रवेश गर्ने र निस्किने विन्दूको बिषयमा सही जानकारी दिने काम गर्ने प्रष्ट्याए । ‘बजार बढाउनका लागि प्राविधिक विश्लेषण तयार भएकै होइन ।’ उनले थपे–‘नेपालमा प्राविधिक विश्लेषणबिना सेयर बजारमा कमाउन सकिन्न । क्याण्डल स्टिक चार्टको परिकल्पना नै मास साइक्लोजीलाई कम्प्राइज गरेर तयार भएको हो। क्याण्डलका ती अनुहारहरु हामीसँग छन्, जसले मास साइक्लोजीलाई डिपिक्ट गर्छ । तसर्थ त्यसलाई पढेर बजारमा काम गर्दा निर्णय लिन सजिलो हुन्छ, त्यही भएर सफल लगानीकर्ता बन्न प्राविधिक विश्लेषण सिक्न आवश्यक छ ।’
उनले अबको बजार बुलिस नै रहेको बारम्बार दोहोर्याए । अहिले नेपाली बजारका सेयर लगानीकर्ताले जोखिम न्यूनिकरण नगरी आफ्नो पोजिसन राखेकोले प्यानिकनेस आएको दाबी गर्दै भने–‘यो सबै बजारको दिशा कता छ भन्ने थाहा नभएर हो । प्राइमरी ट्रेण्ड अप भएको हुनाले म निश्चिन्त छु बजारमा बुलिस ट्रेण्ड सुरु हुनेमा ।’
नेपाली लगानीकर्ताको सबैभन्दा ठूलो समस्या नै ज्ञानको अभाव रहेको उनको भनाई छ । लगानीकर्ताहरुमा प्राविधिक विश्लेषणलाई विश्वास गर्ने बानी र धैर्यता समेत नभएको उनको टिप्पणी छ ।
‘अझै पनि ठूला र आफ्ना छेउको लगानीकर्ताले भनेअनुसार लगानी गर्ने बानी छ । आफूले अध्ययन गरेर लगानी गर्ने बानी नै छैन ।’ उनले भने–‘फण्डमेन्टल्ली हेर्ने इण्डेक्सहरु पनि धेरै छन्, त्यो बारेमा पनि ज्ञान छैन । यी सबैको ज्ञान राखेर गर्नुपर्ने कारोबार हो सेयर बजार । सेयर बजार भनेको आफूसँग लिजरमा भएको पैसा लगाउने ठाउँ हो।’ उनले सेयर बजारमा दैनिक कारोबार गरेर जसले कमाउँछु भनेर सोचेको छ, ऊ डूब्ने दाबी समेत गरे ।
अहिले नेपालका लगानीकर्तामा जस्तो प्यानिकनेश देखिएको छ, यस्तो अवस्था संसारभरिकै बजारले भोग्ने गरेको उल्लेख गर्दै उनले भने–‘संसाभरिकै बजारमा यस्तो प्यानिकनेश र खुशी दोहोरिरहन्छ । प्यानिक लगानीकर्ताहरुको पैसा प्यानिक नहुने लगानीकर्तामा सर्छ, यो संसारभरि नै हुन्छ र चलिरहन्छ । यस्तो बेलामा प्राविधिक विश्लेषण गरेर मात्र अगाडि बढ्नुपर्छ।’
विगत २ वर्षदेखि नेपाली सेयर बजारलाई निरन्तर नियालिरहेका राईले बजार नबढ्ने बेला बढ्ने र नघट्ने बेला घट्ने भइरहेको उल्लेख गर्दै भने–‘हाम्रो बजार सानो छ । यहाँ टाठाबाठाको चलखेल अवश्यम्भावी छ । यस्तो अवस्थामा प्राविधिक विश्लेषणले जोखिम न्यूनिकरणमा निकै ठूलो सहयोग गर्छ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago