-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा भएको सुधार र अनलाइन लगइन लिई कारोबार गर्ने कारोबारीहरुको उल्लेख्य वृद्धिसँगै दिनहँु अर्ब रुपैयाँ बढीको कारोबार भइरहेको छ ।
अत्याधुनिक प्रविधि सेयर बजारमा बिना अवरोध चलिरहेको र छिट्टै बैंक इन्टीग्रेसन पनि हुन लागिरहेकाले समेत अब बजार अझ बलियो बन्ने आशा लगानीकर्तामा देखिन्छ । नेपालको सेयर बजारमा विदेशी पूँजी भित्र्याउने तातो बहस भइरहेको बेला विदेशमै बसेर समेत लगानी गर्न पाउने अवस्था बन्ने आशा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा देखिन्छ ।
गतवर्षको उत्तराद्र्धमा वियरिस ट्रेण्ड समातेर ११ सयको विन्दूमा नेप्से इण्डेक्स झर्दा अधिकांश लगानीकर्ताहरु बजारबाट पलायन भइरहेका थिए भने दोस्रो बजारमा सक्रिय लगानीकर्तामा समेत कुनै उत्साह र हिम्मत थिएन । बिजशालाले नयाँ वर्षका दिन बजारसम्बद्ध केही ब्रोकर, केही लगानीकर्ताका नेता र लगानीकर्ताहरुको विचार प्रकाशित गर्दा बजारमा सरकारले समेत सकारात्मक कदम चालेको र यसले बजारमा सकारात्मक छाप छाड्ने धेरैको ठम्याई थियो । नभन्दै बजारमा अहिले त्यस्तै भइरहेको छ ।
एघारसय विन्दूमा रहेको नेप्से नयाँ वर्षको पहिलो महिनाको दोश्रो साताको पहिलो कारोबार दिन बढेर १३ सय माथि पुगेको छ । बजारमा उच्च खरीद चाप देखिएको छ, यसले बजार अझ माथि पुग्ने अवस्था देखिन्छ ।
ब्रोकरेज हाउसमा ट्रेडिङ्ग फ्लोरमा कार्यरत कर्मचारीहरुका अनुसार अहिले बिक्रीको तुलनामा सेयरको अत्यधिक माग रहेको छ ।
के अब बजारमा बुल रन सुरु भएको हो त ? अब बजार सरासर अगाडि बढ्छ ? वा के हुन्छ ?
प्रा.डा. मनोहरकृष्ण श्रेष्ठले अहिलेको बजार बढाई स्वभाविक रहेको उल्लेख गर्दै नेप्से परिसूचकले यसैपटक हालसम्मको सर्वाधिक १८८१ को विन्दूलाई समेत तोडेर अझै माथि पुग्ने दाबी गरे ।
बैंकहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक रिपोर्ट उत्साहजनक भएका कारण समेत लगानीकर्तामा मनोबल वृद्धि भई बजार उकालो लागेको प्रा.डा. श्रेष्ठको दाबी छ । 'स्थायी सरकारको मोमेन्टम र नियामकहरुको सकारात्मक गतिविधिले समेत यसपालि बजारलाई टेवा दिइरहेको छ ।' श्रेष्ठले भने-'अन्तर्राष्ट्रिय मान्यता अनुसार समायोजन मूल्यमा पूँजीगत लाभ लाग्छ भनेर सरकारले आधिकारिक धारणा ल्याएमा यसपालि नेप्सेले रेकर्ड ब्रेक गर्छ । नियामकहरुले न्यूनतम १ वर्षे स्थिर नीति ल्याएमा नेप्से पहिलो फेजमा १५ सय र दोस्रो फेजमा १८ सयको विन्दूमा पुग्छ ।'
बजारमा यस्तै सकारात्मक अवस्था रहेमा नेप्से इण्डेक्स तेस्रो फेजमा २५ सय विन्दू चूम्ने उनको दाबी छ ।
यसैगरी, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले बैंकहरुको आकर्षक तेस्रो वित्तीय विवरण आएसँगै अन्तिम प्रतिवेदन राम्रो आउने आशामा कम्पनीहरुको मूल्य बढिरहेको बताए ।
प्यानको आतंकलाई समेत बजारले पचाइसकेको र सरकारले लिएको आर्थिक समृद्धिको सपना केबल पूँजी बजारको गतिले समाउने भएको उल्लेख गर्दै रानाभाटले बैदेशिक लगानी आउने बाटो खुलेकाले बजार नबढीकन सुखै नभएको जिकिर गरे । बजारको बुलिस ट्रेण्ड आउँदा लगानीकर्ताहरुको क्षमता र मनोबल बढ्ने रानाभाटको ठम्याइ छ ।
दोस्रो बजारमै सक्रिय ठूला लगानीकर्ता राजीव प्याकुरेलले बिजशालासँग कुरा गर्दै रिजर्भ इन्भेष्टर सक्रिय भएका र बजारले बुल रन समातेका कारणले नेप्से अझै बढ्ने दाबी गरे । बजार एक किसिमले मनोविज्ञानले समेत चल्ने भएकाले घट्ने चक्र बन्द भई अब बढ्ने चक्र सुरु भएको उल्लेख गर्दै प्याकुरेलले १-२ वटा करेक्सन आउनसक्ने अड्कल गरे ।
दीर्घकालीन लगानीका लागि आधारभूत र अल्पकालीन लगानीका लागि प्राविधिक पक्षसँग जानकार भएर मात्र लगानी गर्न उनले सुुझाए ।
अर्को ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता बलराम थापाका अनुसार बजेट खर्चको चापले तरलतालाई राहत भएको बताउँदै अब बजारले पिकअप लिन सुरु गरेको सुनाए ।
लगानीकर्ता दबाब समूहका वरिष्ठ उपाध्यक्ष समेत रहेका दीपेन्द्र अग्रवालका अनुसार सरकारले चालेको सुधारको असर पूँजी बजारमा भर्खरै देखिन थालेको उल्लेख गर्दै देशको अर्थतन्त्रमा सुधारसँगै सेयर बजार बढेको बताए । उनले सेयर बजारको इतिहास प्रस्तुत गर्दै ३ वर्षसम्म वियरिस ट्रेण्ड चलेको र हालसालैबाट सुरु भएको बुलिस ट्रेण्ड अब ५ वर्षसम्म रहनसक्ने प्रक्षेपण गरे । उनका अनुसार २०५७/५८ बाट बियरिस रन सुरु भई २०५९/६० सम्म चलेको र त्यसपछि सुरु भएको बुल रन २०६५/६६ सम्म रहेको थियो । यस्तै, ०६५/६६ बाट सुरु भएको बियरिस प्रवृति २०६७/६८ सम्म रही त्यसबाट पुनः बुलल रन सुरु भएर २०७३/७४ बाट पुनः बियरिस रन सुरु भएको थियो । बियरिस रनको ३ वर्षे अवधि पूरा भइसकेकोले अब बुल रन सुरु भएको र यो ५ वर्ष रहने उनको दाबी छ ।
धेरै समयपछि दोहोरिएका अर्थमन्त्रीले नै बनाउन लागेको बजेट र मौद्रिक नीति राम्रो आएमा बजारले नयाँ उचाइ चुम्ने उनको आशा छ ।
नेप्सेको अनलाइन कारोबार लिने ५ हजार हाराहारी लगानीकर्ताहरुले स्वनिर्णयका आधारमा लगानी गर्न पाउनु र ब्रोकरहरु हस्तक्षेप हुन नसक्नुलाई अग्रवालले सकारात्मक भएको सुनाए ।
यसैबीच, सेयर बजारका प्राविधिक जानकार निराञ्जन पाण्डेले जेठको पहिलो साता बजारले अझ उचाई लिने दाबी गर्दै नेप्सेको अनलाइन बिना अवरोध चलेमा बजार १४ सय र १५ सयको विन्दू असारभित्रै चुम्ने ठोकुवा गरे ।
बियरिस अवधिको शतप्रतिशत अन्त भएको भन्दै बैंकपछि इन्स्योरेन्समा आएको उछालले बजार वृद्धिमा सकारात्मक टेवा पुग्न बताए । लिमिट र मार्जिन कारोबारका लागि ब्रोकरहरुले तनाव नदिएमा बजार सहजै बढ्ने पाण्डेको दाबी समेत छ ।
नेप्से इण्डेक्स बढेको ह्वीममा विगतमा लाभांशको उच्च प्रतिफल दिइरहेका र असल व्यवस्थापन भएका सूचीकृत कम्पनीहरुको सेयरमा लगानी गर्दै बजारको ट्रेण्ड समाउन सकेको खण्डमा बजारबाट मनग्यै कमाउने फेज सुरु भएको जानकारहरु बताउँछन् ।
बुलिस ट्रेण्डको सुरुवाती भएसँगै आवेग र लहैलहैमा नलागी सुझबुझपूर्ण लगानीको पोर्टफोलियो निर्माणमा जोड दिन अनुभवी लगानीकर्ता र बजारका जानकारहरुको सुझाव छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago